प्रतिनिधिसभाबाट सरकार गठन गर्ने उपाय नभएपछि संसद विघटनः राष्ट्रपति

साझाकुरा
२०८२ आश्विन ४, शनिबार १२:०७

हेटौंडा-राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाबाट सरकार गठन गर्ने कुनै उपाय नभएपछि संसद विघटन गरिएको बताएका छन् ।संविधान दिवसको अवसरमा राष्ट्रपतिको सरकारी निवास सितलनिवासमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले मुलुक फेरि नयाँ सपनाका साथ परिवर्तनको नवमार्गमा प्रवेश गरेको बताए । राष्ट्रपति पौडेलले नयाँ जनादेशले लोकतन्त्रलाई संस्थागत गर्दै मुलुकको आगामी बाटो तयगर्ने विश्वास व्यक्त गरे । उनले अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनर्निर्माण गर्दै ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्नुपर्ने बताए । उनले जेनजी आन्दोलनको क्रममा राष्ट्रले भोगेको क्षतिको पुननिर्माण अहिलेको मुख्य कार्यभार रहेको बताए ।

राष्ट्रपति पौडेलले अबको ६ महिनाभित्रमा निर्वाचन सम्पन्न गर्न सबैले सहयोग गर्न आग्रह गरे । उनले राजनीतिक दल, मुुलुकको शासन तथा व्यवस्थापनमा आवद्ध निकाय र बौद्धिक समुदायलाई असहमति र द्वन्द्व नभई पूर्वाग्रहरहित भएर समन्वय र सहकार्यकासाथ निर्वाचनको सफलताका लागि क्रियाशील हुन आह्वान गरे । उनले भने, ‘नयाँ जनादेशले लोकतन्त्रलाई थप संस्थागत गर्दै मुलुकको आगामी बाटो तय गर्नेछ भन्ने मेरो दृढ विश्वास छ । अहिले बनेको अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनःनिर्माण गर्दै ६ महिनामा निर्वाचन सम्पन्न गरी जनप्रतिनिधि मूलक संस्थालाई सत्ता हस्तान्तरण गर्नेछ । यो नै सबै नेपालीको अहिलेको मुख्य कार्यभार हो ।’

राष्ट्रपति पौडेलले दुई दिनको विरोध प्रर्दशनमा मुलुकले अकल्पनीय मानवीय र भौतिक क्षति व्यहोरेको उल्लेख गर्दै भने ‘छोराछोरीको एउटा अभिभावककारुपमा म जीवन गुमाउने ती युवाका बुवाआमाको पीडा अनुभव गर्न सक्छु र त्यस क्रममा भएको राष्ट्रको अपार जनधनको क्षतिको पनि अनुमान गर्दछु । राष्ट्रको अभिभावककारुपमा मुलुकले ती कर्णाधार युवा गुमाउँदाको क्षति अनुभूत गर्न सक्छु ।’ राष्ट्रपति पौडेलले हरेक पुस्ताको सहभागिताले लोकतन्त्र बलियो हुँदै जाने बताए । संस्कृति, प्रकृति र भौगोलिक विविधताले आफैँमा असीमित सम्भावना बोकेको उल्लेख गर्दै उनले यी सम्भावनालाई न्यायोचित ढंगले उपयोग गर्नसके आमनेपालीको जीवनस्तरमा रुपान्तरण ल्याउन सकिने स्पष्ट पारे ।

उनले भने ‘त्यसका लागि हाम्रो संविधानले सदैव मार्गदर्शन गर्दछ । सबैलाई थाहा छ कि हाम्रो संविधानले लोकतन्त्रमा आधारित समाजवादउन्मुख अर्थतन्त्रको लक्ष्य लिएको छ । यो लक्ष्यका लागि राज्यबाट प्राप्त हुने सेवासुविधा र अवसरमा समान पहुँच कायम गर्नु, सामाजिक सुरक्षा सुनिश्चित गर्नु र समावेशी विकासलाई गति दिनु आजको मुख्य आवश्यकता हो ।’ राष्ट्रपति पौडेलले सुशासन, बेथितिको अन्त्य, सामाजिक न्यायलाई प्राथमिकतामा राख्नसके मात्र संविधानले परिकल्पना गरेको समतामूलक र समृद्ध नेपाल सम्भव भएको बताए । राष्ट्रपति पौडेलले जेनजी पुस्ताको आन्दोलनमा ज्यान गुमाएका शहीदहरु प्रति श्रदाञ्जलीका साथै परिवारजनमा गहिरो समवेदना व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*