१८ सय बढी बीमा सर्भेयर फिल्डमा खटिए
हेटौंडा- जेनजी आन्दोलनको क्षतिमा करिव २१ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक बीमादावी परेको छ । बीमादावी भदौ ३१ गतेसम्मको हो । देशभरका प्रहरीका कार्यालय जलाइएको अवस्थामा बीमादावी भुक्तानी प्रक्रियामा पुलिस रिपोर्ट तयार गर्न कठीनाइ भएको सर्भेयरहरुले बताएका छन् ।नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीलाई सक्दो चाँडो क्षतिको विवरण संकलन गरेर दावी प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।
निर्जीवन बीमा कम्पनीहरुले निर्देशनअनुसार दावीप्रक्रिया अघि बढाएका छन् । निर्जीवन बीमा कम्पनीहरुले आन्दोलनको क्षतिमा सक्दो चाँडो बीमादावी भुक्तानी गर्नका लागि विशेष कर्मचारीको समूहलाई नै फिल्डमा उतारेको छ । कम्पनीले दावी सहजताको लागि सीमित कर्मचारीको सम्पर्क नम्बरसहित विवरण सार्वजनिक गरेको छ ।
बीमा कम्पनीहरुले प्राधिकरणको निर्देशनबमोजिम दावीभुक्तानी सहजताको लागि सर्भेयरलाई निकै व्यस्त बनाएको छ । सर्भेयरलाई कार्यक्षेत्रमा खटाएर क्षतिको रिपोर्ट तयारमा व्यस्त रहेका छन् । जेनजी आन्दोलनले द ओरियण्टल इन्स्योरेन्समा सबैभन्दा बढी बीमादावी परेको छ । कम्पनीमा हिल्टन होटलको बीमा रहेको थियो । जेनजी आन्दोलनमा होटल जलेर ध्वस्त भएपछि ओरियण्टल इन्स्योरेन्समा ठूलो मात्राको प्रारम्भिक बीमादावी परेको छ ।
बीमा सर्भेयर संघ, नेपालका अध्यक्ष मोहनपुरुष ढकालले जेनजी आन्दोलनको क्षतिमा हालसम्म २ हजार दुई सय २५ वटा बीमादावी संकलन गरीरहेको र १८ सयभन्दा बढी सर्भेयर फिल्डमा खटिएको बताए ।उनले भने, ‘नेपाल बीमा प्राधिकरणलाई हामीले सहजीकरणको लागि पहिलो दिनमै पाँचबुँदे माग राखेका थियो । सोही अनुरुप प्राधिकरणले सर्कुलर जारी गर्न नसकेको भएपनि मौखिकरुपमा निकै सहजीकरण गरिदिएको छ । सोहीअनुरुप काम अघि बढीरहेको छ ।’ ‘नेपालमा सर्भेयर निकै सक्षम छन् । हामीसँग दुई हजार भन्दाबढी सर्भेयर छन् । कम्पनी तथा प्राधिकरणको निकै सहयोग रहेको छ । तर, नेपाल प्रहरीको रिपोर्टमा थोरै समय लागिरहेको मात्र हो । अन्यथा सक्दो चाँडो बीमादावी भुक्तानी गरिने वातावरण छ ।’
नेपाल बीमक संघका अध्यक्ष तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका सीईओ वीरेन्द्र वैदवारक्षेत्रीले बीमक संघसँग छलफल गरेर दावी भुक्तानी सक्दो चाँडो दिन सुझाव दिएका छन् । उनले क्षति भएका सम्पत्तिधनी तथा बीमितको हकमा कुनै पनि समस्या उत्पन्न नगरी सरलरुपमा बीमादावी भुक्तानी दिन बीमकहरु सक्षम र तयार रहेको धारणा व्यक्त गरेका छन् । आन्दोलनले देशभर क्षति पु¥याएको छ । नागरिक तथा व्यवसायीको अर्बौको सम्पत्ति तहसनहस भएको छ । बीमा गरेका व्यवसायी यतिबेला दावी प्रक्रियामा व्यस्त रहेका छन् ।







