हेटौंडामा हैजा होइन, एरोमोनस संक्रमण पुष्टि

साझाकुरा
२०८२ आश्विन ६, सोमबार ११:४०

हेटौंडा- हेटौंडा उपमहानगरपालिकामा केही दिनअघि हैजाको आशंका गरिएका तीनजना बिरामीमा हैजा नभएको पुष्टि भएको छ । परीक्षणका क्रममा उनीहरुमा ‘एरोमोनस’ नामक ब्याक्टेरियाबाट हुने संक्रमण भेटिएको हो । हेटौंडा–१३ पदमपोखरीका एकै परिवारका दुई पुरुष र हेटौंडा–९ की एक महिलामा भदौ २८ गतेदेखि झाडापखाला, बान्ता, ज्वरो र शरीरमा पानीको कमी जस्ता लक्षण देखिएका थिए ।

प्रारम्भिक ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) मा हैजा पोजेटिभ देखिएपछि उनीहरुलाई हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो । तर, थप परीक्षणका लागि चितवन र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएका नमूनाको रिपोर्टमा हैजाको संक्रमण नदेखिएको हेटौंडा अस्पतालकी एमडी माइक्रोबायोलोजिस्ट डा. शान्ति प्रधानले जानकारी दिइन् ।

उनका अनुसार, दिसाको कल्चर परीक्षणमा हैजासँग मिल्दाजुल्दा जीवाणु देखिएपछि थप पुष्टि गर्न पठाइएको नमूनाबाट एरोमोनस संक्रमण प्रमाणित भएको हो । डा. प्रधानका अनुसार, एरोमोनस संक्रमण र हैजाका लक्षणसँग मिल्दाजुल्दा हुन्छन् । यो ब्याक्टेरिया सामान्यतया नदी, ताल, पोखरी जस्ता पानीका स्रोतमा पाइन्छ । दूषित पानी वा खाना सेवन गर्दा यो संक्रमण हुने गर्दछ । यसका लक्षणमा पनि झाडापखाला, पेट दुख्ने, ज्वरो आउने, बान्ता हुने र टाउको दुख्ने रहेका छन् ।

एरोमोनस संक्रमण देखिएका क्षेत्रका पानी परीक्षणका लागि पनि नमूना संकलन गरी भरतपुर र काठमाडौं पठाउने तयारी भइरहेको डाक्टर प्रधानले बताइन् । उपचारपछि तीनै जना बिरामीको अवस्था सामान्य रहेको र उनीहरु घर फर्किसकेको अस्पतालले जनाएको छ । स्वास्थ्यकर्मीहरुले पानी उमालेर पिउन र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*