दसैंमा खाद्यले खसीबोका र च्यांग्रा नबेच्ने

साझाकुरा
२०८२ आश्विन ६, सोमबार ११:४५

हेटौंडा-खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यसवर्षको दसैंमा खसी, बोका र च्यांग्रा विक्री नगर्ने भएको छ ।भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण आपूर्ति व्यवस्था अन्योलमा परेपछि कम्पनीले विक्री नहुने जनाएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सूचना अधिकारी माधव मिश्रले जेनजी आन्दोलन र सडक अवरोधका कारणले यसवर्ष खसीबोका र च्यांग्रा ल्याउन नसकेको बताए । देशमा देखिएको परिवर्तित राजनीतिक घटनाक्रमले खसीबोका र च्यांग्रा ल्याउने तयारीचरणमा असहज अवस्था सिर्जना गरेको उनको भनाई छ । जेनजी आन्दोलनपछि पनि खसीबोका र च्यांग्रा ल्याउन कोशिष गरेको भएपनि नसकेको उनले बताए ।

हाल सडक ३६ घण्टासम्म सडक अवरुद्ध भएको उल्लेख गर्दै उनले लामो समय खसीबोका र च्यांग्रालाई गाडीमा स्टक गरेर राख्दा समस्या हुने बताए । खसीबोका र च्यांग्रा मरेर झन ठूलो नोक्सानी हुने र त्यसको सन्देश पनि नराम्रो जाने भएकोले यो वर्ष नबेच्ने निर्णय गरेको सूचना अधिकारी मिश्रलेबताए । उनले यसबाट आमउपभोक्तालाई केही असर पर्ने देखिएपनि निजीक्षेत्रले जटिल अवस्थामा सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले मूल्यवृद्धि नगरी सुपथमूल्यमा सेवा दिन पनि निजीक्षेत्रलाई आग्रह गरे ।

‘अहिले दसैंतिहारमा हामी खसीबोका र च्यांग्रा ल्याउन नसक्ने अवस्थामा छौं । यसमा चाहिँ दुईवटा मुख्य कारणहरु रहेका छन् । देशमा देखिएको परिवर्तित राजनीतिक घटनाक्रमले गर्दा तयारीचरणमा हामीलाई केही असहज अवस्था सिर्जना भयो र यो कति लम्बिन्छ भनेर हामीले पूर्वानुमान गर्न सकेनौं, त्यसकारण पनि ल्याउन सक्ने अवस्था भएन ।

अर्को त्यसपछि पनि केही गर्न सकिन्छ की भनेर तयारी गर्न खोजेको खसीबोका र च्यांग्रा जीवित प्राणी हो’ उनले भने, ‘त्यो अब लामो समय त्यसै स्टक गाडीमा राख्दा त्यो मर्ने सम्भावना पनि हुन्छ र अहिले हामी जहाँबाट खसीबोका र च्यांग्रा ल्याउने तयारी गरिरहेका थियौँ, ती क्षेत्रबाट आउने बाटो ३६ घण्टा बन्द हुने अवस्थामा खसीबोका र च्यांग्रा मरेर झन ठुलो नोक्सानी हुनेर त्यसको म्यासेज पनि नराम्रो जाने हुनसक्ने आकलन गरेर व्यवस्थापनले यो वर्ष खसीबोका र च्यांग्रा नल्याउने निर्णय गरेको छ ।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खरिद विभागको विभागीय प्रमुख अनन्तराज पौडलले कम्पनीको बार्षिक कार्यक्रम अनुरुप चाडपर्वको बेलामा खसी बोका र च्यांग्रा विक्रीको लागि सम्पूर्ण तयारी गरिएको भएपनि रोकिएको बताए । खरिदका लागि सम्बन्धित कार्यलयमार्फत् स्थानीय तहमा पत्राचार भइसकेको अवस्थामा रद्द गरिएको उनले जानकारी दिए । उनका अनुसार खाद्य कम्पनीले यसवर्ष अनलाइन प्रणालीमार्फत् पनि खसीबोका विक्री गर्ने योजना बनाएको थियो ।

अनलाईन पोर्टलमा आफूले चाहेको तौल, समूह, आफूले चाहेको खसी, बोका अथवा च्यांग्रा सेलेक्ट गरेर डेलिभरी लिने मिति समेत राखेर लैजान मिल्ने गरी तयारी गरिएको उनले बताए । अनलाइन बुकिङमार्फत् करिव ३० वटा अर्डर आएको भएको उनले जानकारी दिए । कम्पनीले यसअघि करिव १ हजार ५ सय खसीबोका र ३ सय च्यांग्रा आपूर्ति गरी सुपथ मूल्यमा विक्री गर्ने तयारी गरेको थियो । अशान्त परिस्थिति र यातायात सहज नहुने जोखिमका कारण विक्री नगर्ने निर्णय लिइएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*