बागमतीका क्षतिग्रस्त संरचनाको प्राविधिक परीक्षण सुरु

साझाकुरा
२०८२ आश्विन ६, सोमबार ११:५१

हेटौंडा- जेनजी आन्दोलनका क्रममा भएको आगलागी र तोडफोडबाट क्षति पुगेका बागमती प्रदेशका सरकारी संरचनाको प्राविधिक परीक्षण सुरु भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय र विज्ञ समूहको संयुक्त टोलीले हेटौंडास्थित मन्त्रालय, कार्यालय र निकायको अवस्थाको मूल्यांकन गरिरहेको हो । मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाका अनुसार काठमाडौंबाट आएका २ जना विशेषज्ञसहितको प्राविधिकटोलीले आधुनिक उपकरण प्रयोग गरी भवनहरुको विस्तृत जाँच गरिरहेको छ । ‘यो केवल आँखाले हेरेर
गरिएको निरीक्षण मात्र होइन, करिब १५ वर्ष अनुभव भएका विज्ञले उपकरणसहित परीक्षण गरिरहनुभएको छ, त्यसैले परिणामप्रति हामी आश्वस्त छौं,’ उनले भने ।

उनका अनुसार हालसम्म करिब ७० प्रतिशत काम सकिएको छ र एकदुई दिनमै क्षतिको यकिन विवरण तयार हुनेछ । पहिलोचरणमा हेटौंडाका मुख्य सरकारी भवनको निरीक्षण सकिएपछि टोली जिल्लास्थित प्रादेशिक कार्यालयमा पुग्नेछ । प्राविधिकटोलीको प्रतिवेदन एक हप्ताभित्र सचिवस्तरीय कार्यदलमा बुझाइनेछ ।त्यसपछि कार्यदलले आवश्यक अध्ययन र नीतिगत विषय समेटेर मन्त्रीस्तरीय कार्यदललाई सिफारिस गर्ने सचिव मरहठ्ठाले जानकारी दिए । प्रतिवेदनमा प्राप्त सुझावका आधारमा संरचनागत मर्मत (रेक्ट्रोफिटिङ) तत्काल सुरु गरिने र सामान्य क्षतिको मर्मत १० देखि १५ दिनभित्र सम्पन्न हुने अनुमान गरिएको छ ।

पार्टिसन, बिजुलीबत्ती, एसीजस्ता गैरसंरचनागत काम भने छुट्टै खरिद प्रक्रियामार्फत् अघि बढाइनेछ । सचिव मरहठ्ठाले प्राविधिक परीक्षण र पुनःस्थापनापछि प्रदेश सरकारका कार्यालय सुरक्षित रुपमा सञ्चालनमा आउने र भविष्यमा सम्भावित जोखिम न्यूनीकरण गर्न पनि प्रतिवेदन मार्गनिर्देशक हुने विश्वास व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*