तीनवटा सवारी ठोक्किदा ३१ जना घाइते
हेटौंडा- पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरमा तीनवटा सवारी ठोक्किदा ३१ जना घाइते भएका छन् ।सोमबार दिउँसो करिब १ बजेतिर चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख २११९ नम्बरको यात्रुबाहक बसको चालक साइडको टायर पड्किँदा बस अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ८१८० नम्बरको मालबाहक ट्रकसँग ठोक्किएको थियो । सोहीेक्रममा अनियन्त्रित बनेको ट्रक काठमाडौंबाट बारातर्फ आउँदै गरेको ना ७ ख १७७४ नम्बरको पेट्रोलियम ढुवानी गर्ने खाली ट्यांकरसँग पनि ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ३१ जनाको हेटौंडा अस्पताल र सीएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरीप्रवक्ता श्यामु आर्यालले बताए । अन्य घाइतको अवस्था मध्यम तथा सामान्य बताइएको छ । दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय नेवारपानी, जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट २५ जना प्रहरीको टोली घटनास्थलमा परिचालन गरी सवारी साधन हटाउने र यातायात सुचारु गराउने कार्य भएको जनाइएको छ ।







