निर्माण व्यवसायीको बहुउद्देश्यीय भवन शिलान्यास
हेटौंडा- घटस्थापनाको अवसर पारेर निर्माण व्यवसायी संघ मकवानपुरको बहुउद्देश्यीय भवनको शिलान्यास गरिएको छ । हेटौंडा–४ मित्रनगरस्थित पुरानै भवन रहेको स्थानमा ४ करोड ३९ लाखको अनुमानित लागतमा बन्ने भवनको सोमबार निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह र मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलले संयुक्तरुपमा शिलान्यास गरेका हुन् । भवनको शिलान्यास गर्दै महासंघका अध्यक्ष सिंहले विगतको भन्दा अहिले निर्माण व्यवसायीले काम गर्ने शैलीलाई परिवर्तन गर्नुपर्ने बताए । भदौ २३ र २४ गतेको सडक आन्दोलनबाट बनेको अन्तरिम सरकारलाई व्यवसायीले पनि सहयोग गर्नुपर्ने उनले बताए ।
देशलाई भ्रष्टचारमुक्त बनाउने म्याण्डेट अनुसार नै अन्तरिम सरकारले चल्नुपर्ने उनको भनाई छ । अध्यक्ष सिंहले रुग्ण आयोजनालाई अन्त्य गर्ने सरकारको निर्णयलाई आपूmहरुले स्वागत गरेपनि आयोजना रुग्ण हुनुपर्ने कारण खोजी गर्न समेत सरकारलाई आग्रह गरिएको बताए । उनले अब निर्माण व्यवसायीले आपूmलाई विशिष्टकरण गर्ने बेला आएको बताए ।
नीतिगतरुपमा निर्माण उद्योगलाई स्थापित गर्न महासंघको तीनवटै तहले गर्नुपर्ने उनको धारणा छ । मकवानपुर अध्यक्ष कँडेलले तत्कालको लागि भवनको २ तलाको निर्माणकार्य सम्पन्न गरी प्रशासनिक कार्यहरु सुचारु गर्ने बताएका छन् । महासंघका वरिष्ठउपाध्यक्ष इ.आङदोर्जी लामा, बागमती प्रदेश अध्यक्ष छत्रबहादुर तामाङ, वरिष्ठ उपाध्यक्ष राजकुमार बुढाथोकी, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतले मन्तव्य राखेका थिए ।







