६८ जना कैदीबन्दी आफैँ भीमफेदी कारागारमा फर्किए

साझाकुरा
२०८२ आश्विन ७, मंगलवार ११:०१

हेटौंडा- जेनजी प्रदर्शनका क्रममा कारागारबाट फरार भएकामध्ये ६८ जना कैदीबन्दी आफैँ मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागार फर्केका छन् । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागार भीमफेदीलगायत विभिन्न कारागारबाट फरार भएकामध्ये २५९ जना कैदीबन्दी कारागार फर्केका छन् । भीमफेदी कारागारबाट भागेकामध्ये १९८ कैदीबन्दी कारागार फर्किएको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिए । प्रमुख पौडेलका अनुसार भागेकामध्ये ६८ जना कैदीबन्दी आफैँ कारागारको सम्पर्कमा आएका छन् भने बाँकी सबैलाई सुरक्षाकर्मीले पक्राउ गरी कारागार फर्काएका हुन् ।

गत भदौ २४ गते राति १ बजेतिर भीमफेदी कारागारको पर्खाल भत्काएर ४४० कैदीबन्दी फरार भएका थिए । फरार कैदीबन्दीको खोजी गर्ने क्रममा भीमफेदी कारागारबाट फरार १९८ र अन्य कारागारबाट फरार ६२ जना गरी २५९ जना कैदीबन्दी कारागार फर्किएको कारागार प्रमुख पौडेलले बताए । कारागारको तीनवटा गेट फुटाई पश्चिमतर्फको पर्खाल भत्काएर (क) ब्लकबाट २६० र (ख) ब्लकबाट १८० गरी ४४० कैदीबन्दी फरार भएका थिए ।

फरार कैदीबन्दीको खोजीका क्रममा सुरक्षाकर्मीले विभिन्न स्थानबाट कैदीबन्दीलाई नियन्त्रणमा लिई कारागारमा बुझाएको प्रमुख पौडेलले बताए । कारागारबाट भागेका २४२ जना कैदीबन्दीको खोजीकार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायवउपरीक्षक श्यामु अर्यालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*