हेटौंडा अस्पतालमा अनियमितता सुधारको मागसहित ध्यानाकर्षण

साझाकुरा
२०८२ आश्विन ७, मंगलवार ११:०३

हेटौंडा- हेटौंडा अस्पतालको अस्तित्व जोगाउन र सेवागुणस्तर सुधारको मागसहित विभिन्न नागरिक संगठनले अस्पताल प्रशासनलाई संयुक्त ध्यानाकर्षणपत्र बुझाएका छन् ।अस्पतालमा देखिएका अनियमितता, अपारदर्शिता र सेवामा कमीका कारण हेटौंडा अस्पताल बचाऊ तथा सुधार समिति सहितका विभिन्न सरोकारवाला समूहले आइतबार अस्पताल प्रशासनलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

ध्यानाकर्षणपत्रमा अस्पतालमा कार्यरत पदाधिकारी तथा चिकित्सकको एकाधिकार तोड्ने, बिरामीप्रति व्यवहार सुधार्ने, औषधि र उपकरण खरिद पारदर्शी बनाउनुपर्ने, अस्पतालको खाता संयुक्तरुपमा सञ्चालन गर्ने लगायतका माग राखिएका छन् ।समितिले विशेष गरी हाडजोर्नी अपरेशनमा प्रयोग हुने सामग्री अस्पतालकै फार्मेसीमा नराखी बाहिर महँगो मूल्यमा बिक्री गर्ने चलन तत्काल रोक्नुपर्नेमा जोड दिएको छ । साथै, अस्पताललाई कार्यकर्ता भर्ती केन्द्र नबनाई खुला प्रतिस्पर्धाबाट मात्र कर्मचारी भर्ना गर्नुपर्ने माग गरिएको छ ।

हेटौंडा अस्पताल बचाउ तथा सुधार समिति संयोजक विशालराज महत, नागरिक सरोकार समितिका अध्यक्ष अधिवक्ता केशव गौतम,राष्ट्रिय जनसरोकार मञ्च नेपालका अध्यक्ष उमेश गुनी, सेवा सहयोग र आवाजका उपाध्यक्ष रामबिक्रम थापालगायत समाजसेवीको हस्ताक्षर गरिएको पत्रमा भनिएको छ–‘हेटौंडा अस्पताललाई निजी अस्पतालसरह प्रयोग गर्ने प्रवृत्ति तुरुन्त रोकिएन भने हामी बाध्य भएर भण्डाफोर अभियान सुरु गर्नेछौं ।’

अस्पताल सुधारका लागि सचेत नागरिकलाई समेत संलग्न गराई सञ्चालन समितिमा स्वतन्त्र संयन्त्र गठन गर्नुपर्ने र अस्पतालको जग्गाजमिनको संरक्षण गर्नुपर्ने मागसमेत पत्रमार्फत गरिएको छ । यो ध्यानाकर्षणपत्रको प्रतिलिपि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई समेत पठाइएको संयोजक महतले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*