निर्वाचन तयारी तत्काल अगाडि बढाउन प्रधानमन्त्रीको आग्रह

साझाकुरा
२०८२ आश्विन ८, बुधबार १२:०५

हेटौंडा-निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीले मंगलबार छलफल गरेका छन् ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गतेका लागि निर्वाचन तोकिएको सन्दर्भमा सोका लागि आवश्यक कानुन संशोधन, निर्वाचन व्यवस्थापन र स्रोतपरिचालन लगायत विषयमा कार्यवाहक प्रमुख निर्वाचनआयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीले छलफल गरेका हुन् । छलफलमा प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभाको निर्वाचन स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी रुपमा सम्पन्न गर्नु नेपाल सरकारको उच्च प्राथमिकताको विषय भएको बताइन् । प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगलाई निर्वाचन तयारीका सम्पूर्ण कार्य तत्काल अगाडि बढाउन आग्रह गरिन् ।

निर्वाचन सम्पन्न गर्न नेपाल सरकारको तर्फबाट निर्वाचन आयोगलाई आवश्यक पर्ने स्रोतसाधन र जनशक्ति उपलब्ध गराइने, शान्तिसुरक्षाको भरपर्दो व्यवस्था मिलाइने छ भन्दै प्रधानमन्त्री कार्कीले निर्वाचनको लागि अनुकूल वातावरण तयार गर्न सरोकारवालासँग छलफल गरिने जानकारी गराइन् । छलफलमा निर्वाचन आयोगको तर्फबाट कार्यवाहक प्रमुख निर्वाचनआयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक पर्ने मतपेटिका लगायत निर्वाचन सामग्री मौज्दातमा रहेको जानकारी गराए उनले मौज्दातमा नभएका अन्य सामग्रीसमेत स्वदेशमा उत्पादित सामग्रीलाई प्राथमिकता दिई प्रतिस्पर्धात्मक तरिकाले खरिद गरिने बताए । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनमा नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज एवम् सञ्चारजगतलगायत सबै सरोकारवालाको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

छलफलमा नेपाल सरकारका अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सम्बन्धित अधिकारी र आयोगको तर्फबाट निर्वाचन आयुक्तद्वय डा.जानकीकुमारी तुलाधर र सगुनसम्शेर जबरा तथा आयोगका सचिव महादेव पन्थलगायतको उपस्थिति रहेको रहेको जानकारी आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*