पल्पसामा सुपथमूल्य बजार सञ्चालन

साझाकुरा
२०८२ आश्विन ८, बुधबार १२:०८

हेटौंडा- विजयादशमीको अवसर पारेर उपभोक्तालाई राहत पु¥याउने उद्देश्यका साथ हेटौंडामा सुपथ मूल्य बजार सञ्चालनमा ल्याइएको छ । मकवानपुर उद्योग वाणिज्य संघको व्यवस्थापन र मकवानपुर अधिकृत बिक्रेता व्यवसायी संघको संयोजनमा सञ्चालित यस बजारको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले उद्घाटन गरिन् । दैनिक उपभोग्य वस्तुको सुपथ मूल्यमा उपलब्ध गराउने अपेक्षा सहित सुभारम्भ गरिएको बजार असोज ११ गतेसम्म पल्पसा सभागृहमा सञ्चालन हुनेछ । यस बजारमा उपभोक्ताले दैनिक उपभोग्य खाद्यवस्तु होलसेल मूल्यमा खरिद गर्न पाउनेछन् ।

विभिन्न १५ वटा स्टलमा तोरीको तेल, चिनी, पिठोलगायत अत्यावश्यक खाद्यान्न र दैनिक प्रयोगका सामग्री सुपथ मूल्यमा बिक्रिका लागि राखिएको छ । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले मकवानपुर उद्योग वाणिज्य संघले उपभोक्तालाई सरल र सहज तरिकाले दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सञ्चालनमा ल्याएको यस सुपथ बजारले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । विशेषगरी चाडपर्वको समयमा व्याप्त रहने मूल्यवृद्धि, कालोबजारीको अवस्थामा यस्तो बजारले पारदर्शिता प्रवद्र्धन गर्न प्रभावकारी भूमिका खेल्ने उनको धारणा थियो । बजारलाई अझ व्यवस्थित बनाउन मूल्यसूची स्पष्टरुपमा राख्न उनले व्यवसायीलाई आग्रह गरिन् ।

संघका अध्यक्ष प्रमोदसिंह रानाभाटले यसलाई हेटौंडामा सुपथ बजारको नयाँ सुरुवातकारुपमा लिइएको बताए । ‘पहिलो प्रयास भएकाले सानो दायरा राखेका छौं । तर, दैनिक कम्तिमा एक–डेढ हजार उपभोक्ता आउन सक्ने अपेक्षा छ । बजारमा डिलरस्तरकै मूल्यमा सामान उपलब्ध गराउने हाम्रो उद्देश्य हो,’ उनले स्पष्ट पारे । उनले मकवानपुरको आधिकारीक बिक्रेता संघ संयोजकमा बजार संचालन गरेको बताए । अध्यक्ष रानाभाटले भने, ‘गत वर्षसम्म साल्ट ट्रेडिङले एकल प्रयासमा सुपथ बजार चलाउने गरेको भएपनि यसपटक उद्योग वाणिज्य संघकै नेतृत्वमा सबै व्यवसायीलाई सहभागी गराएर एउटैथलोमा दैनिक उपभोग्य सामान उपलब्ध गराइएको छ ।

‘यसलाई विस्तार गर्दै जाँदा भोलि ठूलो स्वरुप दिन सकिन्छ भन्ने हाम्रो सोच छ’ उनले हालैको जेएनजी आन्दोलनले हेटौंडाको प्रमुख सुपरमार्केटमा पारेको क्षतिको उदाहरण दिँदै उपभोक्तालाई एउटै थलोमा सहज खरिद गर्ने विकल्प दिनुपर्ने आवश्यकता भएको बताए । कार्यक्रममा संघका पूर्वअध्यक्ष, बोर्ड सदस्य र सल्लाहकारलगायत उपस्थित थिए । दसैंमा आवश्यक वस्तुहरुलाई लक्षित गरिएको यस बजारमा मासुजन्य परिकार र अण्डा जस्ता अन्य आइटम पनि थप्ने तयारी भइरहेको संघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*