जेनजी पुस्तालाई नेकपाको नेतृत्वमा गोलबन्दभइ अघि बढ्न आव्हान
हेटौंडा- नेपाल कम्युनिस्ट पार्टी हेटौंडा उपमहानगरपालिकाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जेनजी बिद्रोह, राजनीतिक परिस्थिति र अबको निकास के हो भन्ने विषयमा गहन छलफल भएको छ । नेकपाको आन्दोलनले मात्र जेनजी आन्दोलनको मर्म समेट्न सक्ने र सार्थक बनाउन सक्ने हुँदा आम जेनजी पुस्तालाई नेकपाको नेतृत्वमा गोलबन्द भइ अघि बढ्न नेकपा हेटौंडाले आव्हान गरेको छ । जेनजी बिद्रोहपश्चात् देशमा उत्पन्न संकट समाधानका विकल्प केके हुन् र यसको निकास कसरी दिन सक्छ भन्ने विषयलाई मध्यनजर गर्दै नेकपा हेटौंडा उपमहानगर समितिले आयोजना गरेको अन्तरक्रियाको प्रमुखअतिथि नेकपाका केन्द्रीय सदस्य तथा अखिल (समाजवादी) का केन्द्रीय अध्यक्ष नरेन्द्र सी रहेका छन् ।
कार्यक्रममा आफ्नो धारणा प्रस्तुत गर्दै नरेन्द्रले मेचीदेखि महाकालीसम्म जेनजीको आन्दोलनमा नेकपाले पूर्ण समर्थन गर्दै आन्दोलित भएको बताएका छन् । जेनजी पुस्ताले चाहेको परिवर्तन नेकपाले लिएको एकीकृत जनक्रान्ती मार्फत नेपाली विषेशताको समाजवादले मात्र पूरा गर्न सक्ने उनले बताएका छन् । यसकारण सम्पूर्ण नेपाली जेनजी तथा ननजेनजी पुस्ताले पश्चगमनतिर होइन, यथास्थितिवादमा फसेर नेपाल र नेपालीको उज्ज्वल भविष्यका लागि नेपाली विषेशताको समाजवादमा जाने जमर्को गर्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवानपुरका जिल्ला सचिव वीरबहादुर घलान (ज्वाला) ले आफ्नो बिचार प्रस्तुत गर्दै मुख्यत जेनजी उमेर समूहका पुस्ताले १० वर्षे जनयुद्धमार्फत संघर्ष गरेर स्थापना गरेको गणतन्त्रलाई भरपुर प्रयोग गर्दै समाजवादतर्फ उन्मुख हुनु नै अबको देश निर्माणको निकास हो भनेका छन् । त्यस्तै नेकपा एकीकृत समाजवादी मकवानपुरका उपाध्यक्ष ध्रुव भुजेलले आफ्नो मत व्यक्त गर्दै जेनजी आन्दोलनले उत्पन्न गरेको राष्ट्रिय परिस्थितिलाई निकास दिलाउन अब सबै कम्युनिस्ट पार्टीहरु एकढिक्का भएर देश निर्माणमा लाग्नुपर्ने बताएका छन् ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल मकवानपुरका संयोजक सद्दाम हुसेन, नेकपा बहुमत मकवानपुरका सल्लाहकार प्रेम तितुङ, बौद्धिक मन्च मकवानपुरका अध्यक्ष डा. विमल केशरी, अधिवक्ता केशव गौतम, नागरिक सरोकार मन्च मकवानपुरका संयोजक उमेश गुणी, नेकपा मालेका संयोजक हरिकृष्ण अधिकारीलगायतले टीकाटिप्पणी सहित सल्लाहसुझाव प्रस्तुत गरेका थिए । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा मकवानपुरका इन्चार्ज राम सी र जिल्ला सेक्रेटरी पेमा सी, सागर घताने लगायतको आतिथ्यता रहेको थियो ।







