हेटौंडामा अनलाइन बालसंरक्षण छलफल
हेटौंडा- सिविन बाल हेल्पलाइन मकवानपुरले हेटौंडामा अनलाइन बालसंरक्षण सम्बन्धी छलफल गरेको छ ।कार्यक्रममा अनलाइन बालयौनशोषण, साइबर अपराध र बालबालिकामा यसको नकारात्मक प्रभावबारे छलफलमा गरिएको थियो । कार्यक्रममा शिक्षक, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि र अन्य सरोकारवालाको उपस्थिति रहेको थियो । कार्यक्रममा सिविन नेपालका प्रबन्धक माधव लोहनीले अनलाइन बालसंरक्षणसम्बन्धी प्रस्तुति राखेका थिए । उनले अनलाइन बालयौन शोषणका स्वरुप, कानुनी प्रावधान, समुदाय र स्थानीय तहको भूमिका तथा बालबालिकामाथि बढ्दो साइवर अपराधका तथ्यांक प्रस्तुत गरेका थिए ।
अनलाइन बालयौनशोषणमा अश्लील सामग्रीको आदानप्रदान, सामाजिक सञ्जालमार्फत् अनैतिक सम्बन्ध स्थापना, यौनजन्य सन्देश र तस्बिरको दुरुप्रयोग, यौन फिरौतीको माग, प्रत्यक्ष अनलाइन दुव्र्यवहार रहेका छन् । विशेषगरी बालबालिकालाई लक्षित गरी कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरेर गरिने दुव्र्यवहारको बढ्नु चिन्ताको विषय बनेको उनको भनाई थियो । अनलाइन खेलहरुको अत्यधिक लत, अश्लील र हिंसात्मक सामग्रीमा सहज पहुँच तथा त्यसको बालबालिकाको मानसिक स्वास्थ्यमा पर्ने नकारात्मक प्रभावमाथि पनि छलफल गरिएको थियो ।
तथ्यांकअनुसार साइबर ब्युरोमा दर्ता भएका बालबालिका सम्बन्धी उजुरीको संख्या वर्षेनी बढ्दो क्रममा रहेको देखिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा १० उजुरी दर्ता भएको थियोभने २०८०÷८१ सम्म आइपुग्दा २ सय ५३ बालक र २ सय ९६ बालिकाले उजुरी दर्ता गराएका छन् । चालू आर्थिक वर्षको असोज ४ गतेसम्म एक सय ८ बालक र एक सय १२ बालिकाले साइबर अपराधसम्बन्धी उजुरी दर्ता गराएको बताइएको छ । सिविन नेपाल मकवानपुरका प्रबन्धक झबिन्द्र ज्ञवालीले हेटौंडामा नै विशेषज्ञ चिकित्सकमार्फत गम्भीर मानसिक समस्याबाट पीडित बालबालिकाको उपचार भइरहेको जानकारी गराए ।







