भन्सार छलिएका सामग्री मकवानपुरमा बरामद
हेटौंडा- मकवानपुर प्रहरीले बेवारिसे अवस्थामा अवैधरुपमा भन्सारछलीका साम्रगीहरु नियन्त्रणमा लिएको छ ।इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको गस्तीटोलीले मकवानपुरगढी गाउँपालिका–२ शिखरकटेरीस्थित कान्तिलोकपथ सडक खण्डमा बेवारिसे अवस्थामा अवैधरुपमा भन्सार छली गरी ल्याइएका मोवाइलमा प्रयोग हुने २० कार्टुन टेम्पर ग्लास बरामद गरेको हो ।
सामानको स्वामित्वबारे कुनै व्यक्तिले दाबी नगरेपछि प्रहरीले त्यसलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार बरामद सामग्रीमा कालो रंगको टेम्पर ग्लास १ हजार ४ सय ८३ बक्स (प्रति बक्स २७० रुपैयाँ) गरी जम्मा ४ लाख ४ सय १०, सेतो रंगको टेम्पर ग्लास ३ सय १७ बक्स (प्रति बक्स १८० रुपैयाँ) गरी ५७ हजार ७० रुपैयाँको रहेको छ ।
त्यसैगरी, प्रहरीचौकी बसपार्क हेटौंडाबाट खटिएको अर्को टोलीले भन्सार राजश्व तिर्नुपर्ने लत्ताकपडा समेत नियन्त्रणमा लिएको जनाएको छ । सेन्डो ८ सय ९० पिस (प्रति पिस १०० रुपैयाँ) गरी ८९ हजार रहेको छ । यसरी बरामद गरिएका सामानको कुल बजार मूल्य ५ लाख ४६ हजार ४ सय ८० रुपैंयाँ रहेको प्रहरीले जनाएको छ । प्रहरीले दुवै स्थानबाट बरामद गरिएका सामग्रीलाई रितपूर्वक नियन्त्रणमा लिएर आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि भन्सार कार्यालय वीरगञ्ज, पर्सा पठाइएको जनाएको छ । प्रहरीले भन्सार छलीका यस्ता गतिविधिले राजस्व चुहावट हुने भएकाले नियन्त्रणलाई कडाइका साथ अगाडि बढाइने बताएको छ ।







