‘समयमै उठेका स्वरलाई नसुन्दा ग्रेसफुल ऐक्जिटबाट नेताहरु फोर्सफुल ऐक्जिटमा पुग्यो’
हेटौंडा- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक निकासको लागि निर्वाचन जरुरी रहेको बताएका छन् ।जेनजी आन्दोलनको क्रममा क्षति पुगेको नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालय अवलोकन पश्चात् सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री शर्माले घाइते अवस्थामा रहेको संविधानलाई स्वस्थ्य बनाउन पनि फागुन २१ मै प्रतिनिधिसभाको निर्वाचन हुनुपर्ने धारणा राखे । राष्ट्रपति, संविधान, राष्ट्रियसभा, प्रदेश संरचना, स्थानीय पालिकाहरुलाई निर्वाचनकै माध्यमबाट रिफ्रेस गर्न सकिने उनको भनाई छ । महामन्त्री शर्माले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने वातावरण बनाउन कांग्रेसले सहयोग गर्ने बताए । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको सफलता कांग्रेसले खोज्ने उनले गरे ।
महामन्त्री शर्माले वर्तमान सरकार असफल भए लोकतन्त्र धरापमा पर्ने बताए । मन्त्रीपरिषद्मा योग्य व्यक्तिहरु आउँदै गर्दा जेनजी युवाको प्रतिनिधित्व हुन नसकेकोमा उनले असन्तुष्टि व्यक्त गरे । ‘अहिलेको सरकार सफल भएर निर्वाचन गराउनुपर्छ’ उनले भने, ‘निर्वाचनपछि काग्रेस आउला, या अरु कुनै दल आउला तर, निर्वाचनपछि लोकतन्त्र सही ट्रयाकमा आउँछ, त्यसकारण यो सरकारको सफलता स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन गराउनुमा निर्भर रहेको हुन्छ ।’
महामन्त्री शर्माले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले जेनजीलाई प्राथमिकता दिने बताए । ‘कुनै निर्वाचनक्षेत्रमा आवश्यकताका आधारमा ७० वर्षको उम्मेदवार पनि बन्न सक्नुहुन्छ । तर, प्राथमिकतामा भने जेनजी पुस्तालाई कांग्रेसले समेट्छ,’ उनले भने । उनले भदौ २३ र २४ गतेको घटनामा दोषी देखिएकाहरुलाई कारवाही गर्नुपर्ने उल्लेख गरे । विगतमा ओली नेतृत्वको सरकारले गरेका राम्रा कामको जिम्मा लिने र नराम्रा कामको आलोचना व्यहोर्ने बताउँदै महामन्त्री शर्माले घटनाको छानबीन र कारवाही गर्ने विषयमा अन्तरिम सरकारलाई कांग्रेसको साथ र समर्थन रहने स्पष्ट पारे ।
महामन्त्री शर्माले सरकारी संरचनादेखि व्यवपारिक प्रतिष्ठानको आगजनी र तोडफोड जेनजीको भावनाअनुरुप नभएको बताए । जेनजीको नाममा अराजक गतिविधि गर्नेलाई कारवाही गर्नु सरकारको दायित्व भएको उनको धारणा छ । महामन्त्री शर्माले आपूmहरु शान्तिपूर्ण आन्दोलनमा रहेको र तोडफोड, आगजनी गर्ने कारवाही गरियोस् भन्ने कुरा जेनजी पुस्ताबाटै आउनुपर्ने बताए । उनले भने, ‘जब तपाईको हातबाटसिंहदरबार जलेको होइन भने तपाईले भन्नुपर्छ, जसले गरेको हो त्यसलाई कारवाही गर ।’ व्यावसायिक प्रतिष्ठानहरु जलेर जेनजी पुस्ता नै बेरोजगार भएको उनको भनाई छ ।
महामन्त्री शर्माले विगतमा धरै राजनीतिक परिवर्तनहरु कांग्रेसकै नेतृत्वमा भएपनि जेनजी पुस्ताको आन्दोलनले कांग्रेसलाई नै परिवर्तन हुन सन्देश दिएको बताए । उनले फरक–फरक विचारलाई सम्बोधन हुने गरी केन्द्रीय समितिको बैठक मार्फत साझा धारणा बनाउने बताए । विधानलाई परिमार्जन गरेर पार्टीमा जेनजी पुस्ताको प्रतिनिधित्व गराउने उनले उल्लेख गरे । महामन्त्री शर्माले पार्टीको नियमित महाधिवेशन मंसिर मसान्तसम्मा गर्नुपर्ने मत बलियो रहेको बताए । नियमित महाधिवेशन हुन नसकेको अवस्थामा केन्द्रीय कमिटीले विशेष महाधिवेशन बोलाउन सक्ने व्यवस्था रहेको उनले उल्लेख गरे ।
महामन्त्री शर्माले समयमै उठेका स्वरलाई नसुन्दा ग्रेसफुल ऐक्जिटबाट नेताहरु फोर्सफुल ऐक्जिटमा पुगेको जिकिर गरे । उनले पार्टी सभापति र कांग्रेसको स्वास्थ्य अवस्था दुबैलाई ठिक बनाउने बताए । महामन्त्री शर्माले पार्टी सभापतिको घरमा भेटिएको रकमबारे सामाजिक सञ्जालमा आएको भिडियोको आधारमा धारणा बनाउन नहुने बताए । सभापतिको घरमा रकम कहाँ र कसरी आयो भन्ने कुराको जवाफ कि त बुढानीलकण्ठले दिनुपर्ने कि त सरकारले नै अनुसन्धान गर्नुपर्ने उनको भनाई छ । महामन्त्री शर्माले सबै नेताहरुको सम्पत्ति छानबीन गर्नुपर्ने बताए ।
‘कि त यो पैसा आफ्नो हो कि होइन भन्ने कुरा बुढानीलकण्ठले जवाफ दिनुप¥यो । कि त सरकारले अनुसन्धान सुरु गर्नप¥यो,’ उनले भने, ‘अवैध सम्पत्ति भेटिए सबैको सम्पत्ति छानबीन गर्नप¥यो । सुरुवात विश्वप्रकाशबाटै गर्छु भने पनि म रेडी छु । यो भनिरहँदा मेरो सभापतिको पनि, अस्ति भनिएको सुनको पनि र जे चर्चामा आएका सबैको निष्पक्ष छानबीन सरकारले गर्नुप¥यो ।’ जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते बुढानीलकण्ठस्थित देउवाको निवासमा आक्रमण हुँदा पैसाको थुप्रो जलिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । महामन्त्री शर्माले आपूm एकपटक मात्र सांसद् भएको र अहिलेसम्म कुनै पनि आयआर्जनको लाभमा संलग्न नभएको धारणा राखे ।







