उच्चपदस्थ १५ जना कर्मचारी सरुवा

साझाकुरा
२०८२ आश्विन १२, आईतवार १३:३४

हेटौंडा- बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत १५ जना उच्चपदस्थ कर्मचारी सरुवा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको निर्णयअनुसार कृषि र प्रशासन सेवाका अधिकृतस्तर दसौँ र नवौं तहका कर्मचारीलाई नयाँ जिम्मेवारी तोकिएको हो । प्रदेशको प्रशासनिक कामकारबाहीलाई थप प्रभावकारी र गतिशील बनाउने उद्देश्यले प्रमुखसचिव भूपाल बारालले गरेको सरुवामा कृषि तथा पशु सेवातर्फ ८ जना र प्रदेश प्रशासन सेवातर्फ ७ जना उपसचिव परेका छन् । सरुवा सूचीअनुसार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, हेटौंडामा कार्यरत वरिष्ठ पशुविकास अधिकृत (अधिकृतस्तर दसौँ)
डा.रामप्रकाश प्रधानलाई पशुसेवा कार्यालय, मकवानपुरको जिम्मेवारी दिइएको छ ।

यस्तै, मकवानपुरको पशुसेवा कार्यालयका वरिष्ठ पशुचिकित्सक डा व्रजकिशोर ठाकुरलाई पशुसेवा कार्यालय, काभ्रे सरुवा गरिएको छ भने काभ्रेबाट डा. सुजा वाग्लेलाई ललितपुरस्थित पशुसेवा कार्यालयमा पठाइएको छ । त्यसैगरी, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, हेटौंडाकी वरिष्ठ मत्स्यविकास अधिकृत अन्जु घर्तीमगरलाई मत्स्य विकास केन्द्र, भण्डारामा सरुवा गरिएको छ । भण्डाराका वरिष्ठ मत्स्यविकास अधिकृत (अधिकृतस्तर दसौँ) माधव दाहाललाई भने निर्देशनालयमा ल्याइएको छ ।ललितपुरको पशुसेवा कार्यालयका वरिष्ठ मत्स्यविकास अधिकृत डा. प्रभात न्यौपानेलाई पशुसेवा कार्यालय, चितवन पठाइएको छ भने चितवनबाट वरिष्ठ पशुविकास अधिकृत सुनिल केसीलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, हेटौंडामा सरुवा गरिएको छ ।

कृषि विकास निर्देशनालय, हेटौंडाका वरिष्ठ कृषिप्रसार अधिकृत प्रमोद दाहाललाई कृषि विकास कार्यालय, रामेछापको जिम्मेवारी दिइएको छ । प्रदेश प्रशासनतर्फ यातायात व्यवस्था कार्यालय, मोटरसाइकल, गुर्जुधाराका अधिकृत (अधिकृतस्तर दसौँ) नेत्रप्रसाद भट्टराईलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । संस्कृति तथा पर्यटन मन्त्रालयका अधिकृत राजन पोख्रेललाई यातायात व्यवस्था कार्यालय, गुर्जुधारामा पठाइएको छ ।

पर्यटन कार्यालय, काठमाडौंका भक्तबहादुर भण्डारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौंडामा ल्याइएको छ भने संस्कृति तथा पर्यटन मन्त्रालयका पवनकुमार पोख्रेललाई पर्यटन कार्यालय, काठमाडौँको जिम्मेवारी दिइएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका होमनाथ रिजाललाई संस्कृति तथा पर्यटन मन्त्रालयमा र मुख्यमन्त्री कार्यालयका आशिष आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा गरिएको छ । यस्तै, युवा तथा खेलकुद मन्त्रालयका प्रकाश अधिकारीलाई संस्कृति तथा पर्यटन मन्त्रालय, हेटौंडामा पठाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*