बाढीपीडितलाई सरकारको राहतः मृतक परिवारले २ लाख पाउने
हेटौंडा-सरकारले बाढी र पहिरोपीडितलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ । विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले मापदण्ड अनुसार नै राहत वितरण गर्ने निर्णय गरेको हो । मापदण्डअनुसार मृतकका परिवारले दुई लाख रुपैयाँ राहत पाउनेछन् । बाढीपहिरोबाट विस्थापित भएकालाई अस्थायी आवास निर्माणको लागि ५० हजार रुपैयाँ दिने निर्णय पनि भएको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारीप्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले जानकारी दिए ।
उनकाअनुसार अस्थायी आवास निर्माणको लागि तत्काल २५ हजार रुपैयाँ र आवासको संरचना निर्माण गरेपछि २५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको बताए । उनले स्थायी आवास निर्माणको लागि भने हिमालमा ५ लाख, पहाडमा ४ लाख र तराईमा ३ लाख रुपैयाँ उपलब्ध गराइने जानकारी दिए ।
बाढीपहिरोले इलामका मात्रै १६ वटा जलविद्युत आयोजनाको उत्पादन बन्द भएको कार्यकारीप्रमुख भट्टले जानकारी दिए । उनका अनुसार रामेछाप र पाचथरमा एक÷एक वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ । केही निमार्णाधीन विद्युत आयोजनामा पनि क्षति पुगेको उनले बताए । केही तटबन्द, सिंचाईका आयोजना, मेची राजमार्गका पुलहरुमा पनि क्षति पुगेको छ । क्षतिग्रस्त विपी हाईवे एक हप्ताभित्र सञ्चालनमा ल्याउनेगरी काम गरिरहेको पनि उनले जानकारी दिए ।
बैठकले सडक तथा अत्यावश्यक सेवा सुचारु गर्न तीनवटै तहका सरकारबीच समन्वय गर्ने निर्णय पनि गरेको छ । सडकहरु संघीय, प्रदेश र स्थानीय सरकारको भएको हुनाले निकायले सडक सेवा, खानेपानी विद्युत, सञ्चार लगायत अत्यावश्यक सेवाहरु तत्काल सञ्चालन गर्ने निर्णय भएको उनले जानकारी दिए । कार्यक्रमका लागि प्रदेश र स्थातीय सरकारलाई केन्द्र सरकारले सहयोग गर्ने निर्णय भएको छ ।







