थाहानगरमा बसाइँसराइः आउनेभन्दा बाहिरिने साँढे तीनगुणा बढी
हेटौंडा- मकवानपुरको थाहा नगरपालिकामा बसाई सरी आउने भन्दा जाने परिवारको संख्या धेरै देखिएको छ । नगरपालिकाको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक समीक्षामा यस्तो तथ्यांक देखिएको हो । १२ वटा वडा रहेको थाहा नगरपालिकामा २०८१ साउनदेखि २०८२ असार मसान्तसम्ममा जम्मा १६ परिवार बसाई सरी आएका छन् भने साँढे तीनगुणा ५८ परिवार नगरपालिकाको विभिन्न वडा छोडेर बसाईसरी गएका छन् । साविकको गाविस अनुसारको तथ्यांक हेर्ने हो भने पालुङबाट सबै भन्दा बढी बसाई सरी गएको देखिन्छ । तुलनात्मक रुपमा टिष्टुङ छोड्नेको संख्या कम छ ।
गत आर्थिक वर्षमा सबैभन्दा बढी वडा नम्बर २ बाट १३ परिवार बसाइ सरेर अन्यत्र गएका छन् । तथ्यांकमा वडा नम्बर १० बाट एउटा परिवार पनि बसाइ सरी गएका छैनन् । बसाइ सरी गएका परिवारको विवरण हेर्दा अधिकांश सहरीक्षेत्रतर्फ आकर्षित भएको देखिन्छ । थाहा नगरपालिकाको १ नम्बर वडामा एउटा परिवार बसाइ सरी आएका छन् भने ५ परिवार बसाई सरी गएका छन् । वडा नम्बर २ मा १३ परिवार बाहिरँदा एउटा परिवार मात्र बसाई सरी आएका छन् । वडा नम्बर ३ मा आउने र जानेको संख्या बराबर देखिएको छ । ३ नम्बर वडामा आउने र जाने परिवार ५÷५ रहेको छ । वडा नम्बर ४ मा जाने भन्दा आउनेको संख्या बढी छ । ५ परिवार आउँदा ३ परिवार बसाई सरी गएका छन् ।
५ नम्बर वडामा एउटा परिवार पनि बसाई सरी आएका छैनन् भने ३ परिवार गएको एमआइएस सेवा इकाई थाहा नगरका एमआइएस अपरेटर रुपक कार्कीले जानकारी दिए । वडा नम्बर ६ मा ३ परिवार बसाई सरी आउँदा ५ परिजार बसाई सरी गएका छन् । ७ नम्बर वडामा पाँच परिवार बसाई सरी गएका छन् भने ८ नम्बर वडाबाट ४ परिवारले वडा छोडेका छन् । यि दुवै वडामा कुनै पनि परिवार बसाई सरी आएका छैनन् । वडा नम्बर ९ मा १ परिवार बसाई सरी आउँदा ९ परिवार बाहिरएका छन् । १० नम्बर वडाको बसाई सराईको अवस्था स्थिर देखिएको छ । यो वडामा बसाई सराई गरी आउने जानेको संख्या शुन्य रहेको छ । ११ नम्बर वडाबाट ३÷३ परिवार बाहिरिएका छन् । यि दुवै वडामा कोही पनि बसाई सरी आएका छैनन् ।
यो तथ्यांक अघिल्लो आर्थिक वर्षको तुलनामा आउने घट्दो र जानेको संख्या बढ्दो अवस्था रहेको छ । एमआइएस सेवा इकाइका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा ७८८ जनाको जन्म दर्ता भएको छ । नगरमा सोही वर्षमा ३६५ को मृत्यू दर्ता भएको छ । ४०४ जोडीको विवाह दर्ता भएको छ । ६७ जोडीको सम्बन्धविच्छेद भएको सेवा इकाइले जानकारी दिएको छ । १० नम्बर वडामा सबैभन्दा कम ४३ जनाको जन्म भएको छ भने सबैभन्दा बढी वडा नम्बर ७ मा १०७ जनाको जन्म भएको छ । वडा नम्बर ८ मा सबैभन्दा कम २५ जनाको मृत्यू दर्ता भएको छ भने सबैभन्दा बढि २ नम्बर वडामा ४३ जनाको मृत्यूदर्ता भएको सेवा इकाइका फिल्ड सहायक अच्युत विडारीले जानकारी दिए ।







