२०८२ वैशाखदेखि असोज २० सम्म विपद्बाट ३ सय बढीको मृत्यु
हेटौंडा- २०८२ सालमा सरदरभन्दा बढी वर्षा हुने अनुमान मौसमविद्ले गरेका थिए । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार वर्षायामका अन्य महिनाभन्दाअसोज महिनमा अत्याधिक वर्षा भयो । देशभरका पाँच स्थानमा वर्षाले रेकर्ड ब्रेक ग¥यो । इलामको इलाम गाउँ, इलामकै इलाम टिस्टेट, पर्साको वीरगञ्ज र रौतहटको गौरमा अति उच्चवर्षा भयो । जल तथा मौसम विज्ञान विभागका अनुसार गत असोज १७ र १८ गतेको भीषणवर्षाले हिमाली गाउँको यसअघिको वर्षाको रेकर्ड ब्रेक गरेको हो । यसअघि हिमाली गाउँमा ३ सय २० दशमलव ६ मिलिमिटर वर्षा भएको थियो । तर, यसवर्ष ३ सय ३२ दशमलव ६ मिलिमिटर वर्षा भयो । दोस्रो धेरै वर्षा भएको स्थान रौतहटको गौर हो । गौरमा यसअघि ३ सय १ दशमलव ५ मिलिमिटर वर्षा भएकोमा यसवर्ष ३ सय १५ मिलिमिटर वर्षा भएको छ ।
त्यस्तै धेरै वर्षा हुने स्थानको तेस्रो सूचिमा पर्साको वीरगञ्ज परेको छ । वीरगञ्जमा यस वर्ष २ सय ९४ दशमलव ५ मिलिमिटर वर्षा भएको छ । यसअद्धि वीरगञ्जमा २ सय ७३ दशमलव २ मिलिमिटर वर्षा भएको थियो । त्यस्तै इलामकै इलाम टिस्टेटमा २ सय ८० मिलिमिटर वर्षा भएको छ । यसअघि त्यहाँ २ सय ७३ दशमलव २ मिलिमिटर वर्षा भएको थियो । यि चारवटै स्थानमा विगतको तुलनामा वर्षाले नयाँ रेकर्ड ब्रेक गरेको हो । यसवर्षको वैशाख १ गतेदेखि असोज २० गतेसम्म विपद्सम्बन्धी ४ हजार १ सय ६४ वटा घटना भएका छन् । जसमा ३ सय ८ जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता भएका छन् । त्यस्तै घाइते १ हजार १ सय १३ जना रहेका छन् भने ८ हजार ५ सय ९५ परिवार प्रभावित भएका छन् ।
बाढीका ३ सय ७ वटा घटनामा ३१ जनाको मृत्यु भएको छ । त्यस्तै २३ जना बेपत्ता र १५ जना घाइते भएका छन् । बाढीबाट ३ हजार २ सय ९७ परिवार प्रभावित बनेका छन् । असोज २० गतेसम्म पहिरोका घटना ५ सय ३९ रहेका छन् भने ६५ जनाको मृत्यु भएको छ । ९ जना बेपत्ता र ७७ जना घाइते भएका छन् भने ७ सय ५७ परिवार प्रभावित बनेका छन् । असोज २० गतेसम्म भारी वर्षाका घटना ४०१ वटा रहेका छन् । जसबाट ७ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । ९ सय ७८ परिवार प्रभावित बनेका छन् । यस अवधिमा चट्याङबाट ४५ जनाले ज्यान गुमाएका छन् । ३ सय ४६ वटा घटनाबाट २ सय ५६ जना घाइते भएका छन् । त्यस्तै ४ सय २५ परिवार प्रभावित भएका छन् ।
यसअवधिमा सर्पदंशका ४ सय ३९ वटा घटना भएका छन् । जसबाट ८७ जनाले ज्यान गुमाएका छन् भने ३ सय ५६ जना घाइते भएका छन् भने ४ सय ४५ परिवार प्रभावित भएका छन् । २०८२ को वैशाख १ गतदेखि असोज २० गतेसम्म आगलागीका १ हजार ३ सय ८७ घटना भएका छन् । जसबाट २४ जनाको ज्यान गएको छ भने १ सय ९१ जना घाइते भएका छन् । त्यस्तै १ हजार ५ सय १० परिवार प्रभावित बनेका छन् । यसअवधिमा वनडँढेलोका १ सय ५८ वटा घटना भएका छन् । जसबाट २ जना घाइते भएका छन् भने २७ परिवार प्रभावित भएका छन् । सरकारकाअनुसार यस अवधिमा हावाहुरीबाट ज्यान गुमाउनेको संख्या आठ रहेको छ । २ सय ८५ घटनामा ४४ जना घाइते भएका छन् । त्यस्तै ५ सय ४२ परिवार प्रभावित बनेका छन् ।
जनावर आक्रमणबाट २२ जनाको मृत्यु
यसअवधिमा जनावरको आक्रमणबाट मृत्यु हुनेको संख्या २२ रहेको छ । २ सय ३८ जनावर आक्रमणका घटनामा १ जना बेपत्ता र १ सय ८ जना घाईते भएका छन् । जनावर आक्रमणको घटनाबाट ३ सय ९५ परिवार प्रभावित छ । वैशाख १ गतदेखि असोज २० गतेसम्म लेक लागेर १९ जनाको मृत्यु भएको छ । ६१ वटा घटनामा ४५ जना घाइते भएका छन् । लेक लागेर प्रभावित हुने परिवारको संख्या ५९ रहेको छ । ढुंगा पल्टिएर प्रभावित हुने परिवारको संख्या ५ रहेको छ भने २ वटा घटना भएका छन् । १ जना घाइते भएका छन् । त्यस्तै महामारीको घटना एउटा मात्रै छ । महामारीबाट १ सय ५५ परिवार प्रभावित छ ।
असोज १९ गते बिहान १० बजेदेखि २० गते बिहान १० बजेसम्म मात्रै बाढीबाट १५ जिल्ला प्रभावित बनेका छन् । ३९ वटा घटनामा एक जना बेपत्ता छन् भने ५ सय ५७ जनाको उद्दार भएकोछ । ३ सय ७८ जना प्रहरी परिचालन गरिएको छ । त्यस्तै पहिरोबट १२ वटा जिल्ला प्रभावित भए । २१ वटा घटनामा १ जनाको मृत्यु भयो भने ३ जना घाइते भए । ३ सय १४ जना प्रहरी परिचालन गरिएको छ । अविरल वर्षाबाट ५ जिल्ला प्रभावित थिए । ८ वटा घटनामा १ जनाको मृत्यु भयो भने १ घाइते र २१ जनाको उद्दार
गरिएको छ ।
यसअवधिमा ५३ जिल्ला प्रभावित बने भने ९४ वटा घटनामा ४ जनाको मृत्यु भयो । त्यस्तै १ जना बेपत्ता भए भने १७ जना घाइते भएका छन् । यसअवधिमा ५ सय ७८ जनाको उद्दार गरिएको र ९ सय जना प्रहरी परिचालन भएको छ । यसअवधिमा १९ वटा पशुचौपायाको क्षति भएको छ भने १८ वटा सडक अवरोध र ६१ लाख ४३ हजार ५ सय अनुमानित क्षति भएको छ ।







