हेटौंडा–१० मा बस टर्मिनल निर्माणले पूर्णता पाउन सकेन
हेटौंडा–हेटौंडा उपमहानगरपालिका–१०, टिसिएनमा २०७७ सालमै शिलान्यास गरिएको बस टर्मिनल पाँचवर्षमा पनि पूर्णता पाउन सकेको छैन । आशिष बानियाँ जेभिले २०७९ सालमै निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । तोकिएको समयमा काम सम्पन्न हुन नसक्दा म्याद थप गरी आगामी पुस मसान्तसम्मका लागि निर्माण अवधि लम्बाइएको छ । नगर विकास कोषको ६० प्रतिशत ऋण र उपमहानगरको ४० प्रतिशत लगानीमा ३५ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको यस टर्मिनललाई उपमहानगरपालिकाले आगामी पुस महिनासम्ममा सञ्चालनमा ल्याउने दाबी गरेको छ । बागमती प्रदेशको स्थायी राजधानी घोषणा भएको सातवर्ष बितिसक्दा पनि हेटौंडाले अझै व्यवस्थित बसपार्क पाउन सकेको छैन ।
देशको मुख्य स्थलमार्ग पूर्व–पश्चिम राजमार्ग नजिकै रहेको हालको बसपार्क पार्किङ, प्रतिक्षालय र अन्य आवश्यक पूर्वाधारको अभावमा अव्यवस्थित बन्दै गएको छ । जसका कारण हजारौं यात्रु दैनिक सास्तीखेप्न बाध्य भएका छन् । यातायातको साधनको प्रतिक्षामा रहने यात्रुले आफ्ना सामान सडककिनारा र फुटपाथमा राख्नुपर्ने बाध्यता रहेको छ । पानी परेको बेला वा घाम लागेको बेला प्रतिक्षालय नहुँदा यात्रु खुला आकाशमुनि बस्न बाध्य छन् । टिकट काउन्टर सञ्चालन गर्ने व्यवसायीलाई पनि ठाउँको अभावले साँघुरो स्थानबाट काउन्टर सञ्चालन गर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।
देशका पूर्व–पश्चिम तथा काठमाडौंबाट दैनिक हजारौं सानाठूला यात्रुवाहक सवारी हेटौंडा भएर आवतजावत गर्ने भएपनि हेटौंडामा सुविधासम्पन्न बसपार्क नहुँदा समस्या भइरहेको छ । उपमहानगरपालिकाले निर्माण गर्न लागेको व्यावसायिक टर्मिनल भवनसहितको बसपार्कले नगरको सौन्दर्यतामा वृद्धि गर्ने विश्वास गरिएको छ । व्यवस्थित र सुविधासम्पन्न बस टर्मिनल भवन निर्माणपछि सानाठूला गरी एक सय ३० वटा सवारीसाधन एकैसाथ पार्किङ गर्न सकिने बताइएको छ ।
नयाँ सुविधायुक्त बस टर्मिनलमा साना र ठूला गरी १ सय ३० वटा सवारीसाधनका लागि पार्किङ सुविधा रहनेछ । अन्डरग्राउन्ड पार्किङमा ९० वटा चारपांग्रे र २ सय ५० वटा दुईपांग्रे सवारीसाधन अट्ने क्षमता रहने बताइएको छ । बसपार्क तथा टर्मिनल भवन निर्माण भएपछि हेटौंडा बजारक्षेत्रको अव्यवस्थित पार्किङलाई न्यूनीकरण गरी पार्किङ व्यवस्थापनमा सहयोग पुग्ने तथा उपमहानगरको आन्तरिक आम्दानी वृद्धिसमेत हुने जनाएको छ ।







