हामीसँग पर्याप्त फूल छ, आयात गर्नुपर्ने अवस्था छैन

हेटौंडा-नेपालीको महानपर्व तिहार नजिकिँदै गर्दा बजारमा मखमली र सयपत्री फूलको माग तीब्र रुपमा बढेको छ ।झिलीमिली बत्ती, देउसीभैलो र फूलमालाको रौनकले सजिने यो पर्वमा फूल व्यवसाय समेत फस्टाउँदै गएको देखिन्छ । तिहारमा मखमली फूललाई विशेष महत्व दिइन्छ । अर्कोतर्फ सयपत्री फूल मन्दिर, घर र पूजापाठमा प्रयोग हुने भएकाले यसको माग झनै उच्च हुन्छ । यही मागलाई मध्यनजर गर्दै मकवानपुरका कृषक परम्परागत खेती छाडेर व्यावसायिक फूल खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।
हेटौंडा उपमहानगरपालिका अन्तर्गतका विभिन्न वडा, मकवानपुरगढी, मनहरी, ईन्द्रसरोवर, थाहा नगरपालिकालगायत क्षेत्रमा सयपत्री र मखमली फूलखेती विस्तार भइरहेको छ । अघिल्ला वर्षहरुमा प्रायःघरमै आफूलाई आवश्यक फूल उत्पादन हुन्यो । तर, यसवर्ष तिहार चाँडो परेकाले गाउँघरमा फूल उत्पादन पर्याप्त नभएको र यस्तो अवस्थामा व्यावसायिक फूलखेती गर्ने किसान राम्रो आम्दानी हुने आशामा रहेका छन् ।
फूल उत्पादनले आत्मनिर्भरता त बढाएको छ नै साथै आयात प्रतिस्थापनमा समेत योगदान पु¥याइरहेको छ । नेपालमा माग धान्न अघिल्ला वर्षहरुमा भारतबाट फूल आयात गरिन्थ्यो । तर, अहिले स्थानीयस्तरमै उत्पादन बढ्न थालेपछि आयात गर्न नपर्ने र सरकारले बजार व्यवस्थापन गरे नेपालमै हाल प्रशस्त फूल उत्पादन गरिएको हुँदा माग धान्न सकिने नेपाल सयपत्री फूल उत्पादक संघका अध्यक्ष बालकृष्ण चौलागाईंले बताए ।
देशभरमा सबैभन्दा बढी काठमाडौं उपत्यकाका सयपत्री र मखमली फूलको खपत हुने गरेको फ्लोरिकल्चर एशोसिएशनले जनाएको छ । देशभरमा झन्डै पचास लाख रुपैयाँभन्दा बढीको फूलको कारोबार तिहारको समयमा हुने गर्छ । काठमाडौंमा त्यसको ६० प्रतिशत फूल खपत हुन्छ । विगतका वर्षहरुमा ७५ प्रतिशत फूल नेपालमै उत्पादन हुने र २५ प्रतिशत फूल भारतबाट आयात गर्ने गरिएकोथियो । तिहार पर्वसँगै देशभर फूलको माग उच्च हुँदै गएको बेला कृषकले व्यावसायिक फूल खेतीबाट कृषिक्षेत्रमा सकारात्मक परिवर्तन ल्याइरहेका छन् ।