कार्तिक १ गते थाहाको बिशिङ्खेलमा अम्बेजात्रा मनाइंदै
हेटौंडा-मकवानपुरको थाहा नगरपालिका–१० चित्लाङ बिसिङ्खेलमा कार्तिक १ गते भव्यरुपमा चम्पाकेश्वर महादेवको जात्रा मनाइने भएको छ । हरेकवर्ष कात्तिक १ गते हुने जात्रालाई स्थानीयले ‘अम्बेजात्रा’ भनेर पनि चिन्दछन् । चित्लाङका चार गाँउका ऐतिहासिक गोपाली जातिले दशैंभन्दा प्राथमिकता दिएर मनाउने प्रचलन रहेको चम्पाकेश्वर महादेवको जात्रा यसपालि कार्तिक १ गते शनिबार परेको छ ।
चित्लाङको न्हुँलगाँउ, टौखेल, कलाँटु र अम्बुटोलका बासिन्दाले विधिपूर्वक अम्बेजात्रा मनाउने परम्परा रहेको छ । धार्मीक ग्रन्थ रामायणको पात्र वाणासुरको कथासँग चम्पाकेश्वर महादेवको उत्पत्तिको प्रसंग जोडिएकोले चम्पाकेश्वर महादेवको उत्पत्ति आदि कालमै भएको दाबी छ । गोपाली जातिको बाहुल्यता रहेको यो क्षेत्रमा नाच र जात्रा चलाउन गुठीको ब्यवस्था गरिएको छ ।
यसभेगमा पानी नपरेमा पानी माग्न र गाईवस्तुको रक्षाको लागि चम्पाकेश्वर महादेवलाई पुज्ने बताइन्छ । यस मन्दिरमा पुख्यौँली घर पाटन रहेका राजोपाध्याय खलकका पूजारी छन् । प्रत्येक वर्ष जात्रामा विशेष पूजाका लागि महादेवलाई जाँड र एकैपटक कुटीएको चिउरा चढाउनुपर्छ । जसलाई स्थानीय वासिन्दा ‘ककबजि’ भन्दछन् । बेलुकी काठको लठी ठोकाठोक गरेर टाउकोमा पगरी र पगरीभरि फूल सिउरेर स्थानीय गोपालीले घरबुना खेसका कपडा लगाएर नाच देखाउने चलन रहेको छ । यो नाचलाई स्थानीय भाषामा ‘ट्वाक प्याखँ’ भनिन्छ ।
स्थानीय गोपालवंशी ग्वालाहरुको अत्यन्त श्रद्धाको पर्व चम्पाकेश्वर मेलामा विभिन्न गुठीयारहरुले चारघेम्पो जाँड ल्याउने प्रचलन छ । कीरा परिसकेको जाँड र ‘ककबजि’ प्रसादको रुपमा खाएमा पेटका रोग निर्मुल हुने जनविश्वास रहेको छ । किम्बदन्ती अनुसार हालको थानकोटलाई प्राचिनकालमा शोणितपुर भनिन्थ्यो । त्यहाँ राजा बाणासुरले राज्य गर्दथे । एकदिन शिकार खेल्न राजपरिवार र सेनाहरु चन्दागिरी जंगल हँुदै बिसिङ्खखेलको वनमा आइपुगेको स्थानीय बासिन्दा बताउँछन् ।
यो वनको एउटा रुखमा फुलिरहेको चाँपको फूल राजकुमारीले देखेपछि उनी लोभिएको र फूल टिपेर ल्याउन अनुरोध गरिएको स्थानीय बुढापाका बताउँछन् । कथाअनुसार फूलको रुखको फेदबाट हेर्दा फूल देखिने र टुप्पोमा पुग्दा हराउने गरेपछि राजालाई साह्ै रिस उठेछ । त्यसपछि कलाँटुगाँउका काठका काम गर्ने ब्यक्तिलाई बोलाएर त्यो रुख काट्न आदेश दिएछन् । रुख काट्दा रगत आएको र एउटा ज्योतिर्लि· पैदा भएपछि कलाँटुका गमालहरुले ज्योर्तिलि· आफ्नो गाँउमा लगेर राखेछन् ।
तर, त्यो रात गाँउमा कुखुराको भाले नबासेपछि केही अनिष्ट भयो भन्ठानेर गाँउलेमा चिन्ता बढेछ । क्षमापूजा गरेपछि आकाशवाणी भएर ‘सोझा जाति गोपाली बस्ने टौखेलमा मलाई लगेर राख्न’ भनेपछि अझैपनि जात्राको दिन टौखेलबाट शिवलि· ल्याउने र जात्रा सकिएपछि फिर्ता लैजाने प्रचलन रहेको स्थानीय हरि गोपालीले बताए । सो चाँपको रुखको ठुटो हालसम्म मन्दिरक्षेत्रमै रहेको छ ।







