तिहारलक्षित बजार ३ स्थानमा तोकियो

हेटौंडा- यसवर्ष हेटौंडा उपमहानगरपालिकाले तिहारलक्षित बजारका लागि तीनस्थान तोकेको छ ।विगतका वर्षहरुमा उपमहानरपालिकाले नगरक्षेत्रका विभिन्न स्थानमा यस्ता बजार राख्न अनुमती दिदै आएकोमा यसपटक भने राप्तीरोड ब्लड बैंक भवनदेखि पश्चिमतर्फ हेटौंडा अस्पतालको पर्खाल बाहिरको खालीस्थान, हेटौंडा–२ स्थित संगमचोक र फरेष्ट्रीस्थित खुलास्थानमा मात्र अनुमति दिइएको हेटौंडा उपमहानगरपालिका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।
यद्यपि, फरेष्ट्री अगाडिको खाली जग्गामा व्यापारिक चहलपहल नहुने देखिएपछि व्यापारीहरुले त्यस स्थानमा जान मानेनन् । हेटौडा अस्पताल परिसर र संगमचोकमा मात्रै तिहारलक्षित बजार राखिएको छ । त्यसैगरी उद्योग वाणिज्य संघका अगाडि डोकोमा पूmलहरु मात्र बिक्री गर्न अनुमति दिइएको प्रवक्ता न्यौपानेले जानकारी दिए । तिहार बजारमा फूल, फलफूल, भाइमसला, लक्ष्मीपूजाका सामग्री, ध्वजापताका विक्रीका लागि राखिएका छन् । भाइटीका तथा लक्ष्मीपूजाका लागि आवश्यक पर्ने पूजासामग्री, मसला, फलफूल लगायत सामान किन्न ग्राहकको चहलपहल सुरु भएको छ ।
असोज ३१ गतेदेखि सञ्चालनमा आएको तिहारलक्षित बजार एक सातासम्म चल्नेछ । तोकिएको क्षेत्रमा तोकिएको समयावधि लागि व्यवसाय सञ्चालन गर्न कुनै शुल्क नलाग्ने प्रवक्ता न्यौपानेले बताए । बजारलाई व्यवस्थित बनाउनका लागि उपमहानगरपालिकाले विगतका वर्षदेखि नै स्थान निर्धारण गर्ने गरेको छ । बजारमा नगरप्रहरीले निगरानीका साथै सुरक्षा प्रदान गरिरहेको छ ।