बकैया र हेटौंडामा करेन्ट लागेर दुईजना घाइते

हेटौंडा- मकवानपुरको बकैया र हेटौंडामा करेन्ट लागेर दुईजना घाइते भएका छन् । पूर्वी मकवानपुरको बकैया गाउँपालिका–६ बेलबोट शुक्रबार दिउँसो करेन्ट लागेर काभ्रे महाभारत गाउँपालिका बस्ने २१ वर्षीय आयुष लामा घाइते भएका हुन् ।बेलबोबाट काठ लोड गरी हेटौंडा आउँदै गरेको बा.प्र.०३–००१ ख २१६७ नं. को ट्रकको छतमा बसेर घरघरमा लगेको विद्युतको तार पन्छाउँदै अगाडि बढ्ने क्रममा एक्कासी ११ हजार भोल्टको तारमा छोइ करेन्ट लाग्दा लामा घाइते भएका हुन् । बागमती प्रदेश प्रहरीका अनुसार करेन्ट लागेर लामा ट्रकमाथिबाट तल सडकमा खसेर घाइते भएका हुन् ।
उनको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । घाइतेको दुबै खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको अस्थायी प्रहरी पोस्टले जानकारी दिएको छ । ट्रक र ट्रकचालक (साहु) हेटौंडा–५ बस्ने ४० वर्षीय रमेशप्रसाद चौहानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।त्यस्तै, शुक्रबार दिउँसो हेटौंडा उपमहानगरपालिका–१०, कर्राचोकमा करेन्ट लागेर एकजना घाइते भएका छन् ।
हेटौंडा उपमहानगरपालिका–१६ उत्तरपानी बस्ने २५ वर्षीय विमल बम्जन पसलछेउमा रहेको तारमा छुनपुग्दा करेन्ट लागेर घाइते भएका हुन् । कर्राचोकस्थित श्रीराम पान पसलमा पान किन्न आएका बम्जन पसल छेउको तार छुनपुग्दा घाइते भएको बागमती प्रदेश प्रहरीले जानकारी दिएको छ । घाइतेको हेटौंडा अस्पतालमा उपचार पश्चात् थप उपचारका लागि मोडेल अस्पताल रिफर गरिएको छ ।