तिहारको समयमा ३१ सवारी साधन नियन्त्रणमा
हेटौंडा- हेटौंडा उपमहानगरपालिकाको विभिन्न क्षेत्रबाट सवारी नियम उल्लंघन गरी चलाइएका ३१ वटा दुईपांग्रे सवारी साधन मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । मादकपदार्थ सेवन गरी चलाएका र स्वरुप परीवर्तन गरी सञ्चालन गरिएका दुईपांग्रे सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चाडपर्व लक्षित सुरक्षा योजनाअनुरुप जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मादकपदार्थ सेवन गरी चलाइएका २४ वटा मोटरसाइएकल नियन्त्रणमा लिइएको हो ।
यस्तै स्वरुप परीवर्तन गरी ध्वनी प्रदूषण गर्ने सातथान मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायवउपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीटोलीले मोटरसाइकलको पार्टपुर्जाहरु फेरि स्वरुप परिवर्तन गर्ने, कम्पनीको साइलेन्सर परिवर्तन गरी ठुलो आवाजमा पड्किने बनाउने, रातको समयमा चर्को ध्वनी प्रदुषण गर्ने, समाजमा शान्ति सुव्यवस्था खलल पार्दै आतंक सृजना गर्ने जस्ता गतिविधिमा संलग्न मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको जनाइएको छ ।








