मनहरीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु
हेटौंडा- मकवानपुरको मनहरी गाउँपालिका–७ निर्मलबस्ती नजिक सवारी दुर्घटनामा एक बृद्धा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ८४ वर्षीया इन्द्रकुमारी स्याङतान रहेको मकवानपुर प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार, बिहीबार दिउँसो करिब ४ बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्मलबस्तीक्षेत्रमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ८ ख १२५६ नम्बरको ट्रकले स्याङतानलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएकी स्याङतानलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो । तर, उपचारको क्रममा साँझ ५ बजेतिर डाक्टरले उनलाई मृतघोषणा गरेका हुन् ।दुर्घटनामा संलग्न ट्रक र चालक धनुषाको मिथिला नगरपालिका–६ बस्ने २५ वर्षीय संजीत कुमार महतोलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।








