समान काम, समान ज्याला माग्दै मकवानपुरे नर्सहरु आन्दोलित

साझाकुरा
२०८२ कार्तिक १४, बिहीबार ११:१५

हेटौंडा- समान काम, समान ज्यालाको माग गर्दै मकवानपुरका नर्सहरु आन्दोलित भएका छन् । नेपाल नर्सिङ संघको राष्ट्रव्यापी आन्दोलनको आह्वान अनुसार बुधबारदेखि मकवानपुरका नर्सले बिहान १० देखि १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गर्दै विरोध प्रदर्शन सुरु गरेका हुन् ।नेपाल नर्सिङ संघ मकवानपुरकी अध्यक्ष गंगा दाहालका अनुसार माग सुनुवाइ नभएकाले आन्दोलनको दोस्रोचरण सुरु गरिएको हो ।

‘कात्तिक ४ देखि ११ गतेसम्म कालोपट्टी बाँधेर सेवा दिएपनिसरकार मौन रहेकाले हामी बाध्य भएर सेवा बन्द गर्नुपरेको हो,’ उनले भनिन् । उनका अनुसार नर्सहरुले कात्तिक १८ गतेसम्म हरेक दिन दुई घण्टा सेवा बन्द गर्ने निर्णय गरेका छन् । आन्दोलन मुख्यतः निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुको न्यून तलब र श्रमशोषणविरुद्ध केन्द्रित छ । हाल सरकारले नर्सहरुको न्यूनतम तलब पाँचौँ तहको दरबन्दीअनुसार ३४ हजार ७३० रुपैयाँ तोकेको भएपनि धेरै निजी अस्पताल र शिक्षण संस्थाले अत्यन्तै न्यून पारिश्रमिकमा काम गराइरहेको नर्सहरुको आरोप छ ।

नेपाल नर्सिङ संघले कात्तिक २ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १५ बुँदे मागपत्र बुझाउँदै आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । संघले दक्ष नर्सिङ जनशक्तिलाई स्वास्थ्य ऐनअन्तर्गत व्यवस्थापन गर्नुपर्ने, रात्रिकालीन, सार्वजनिक बिदा तथा चाडपर्वमा काम गरेबापत अतिरिक्त भत्ता दिनुपर्ने, योग्यता र अनुभवका आधारमा बढुवा र ग्रेड प्रणाली लागू गर्नुपर्नेलगायत माग राखेको छ । अध्यक्ष दाहालका अनुसार सरकारले गठित कार्यदलले माग सम्बोधनमा पहल नगरे आन्दोलनका कार्यक्रम थप सशक्त बनाइनेछ । गत कात्तिक २ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल नर्सिङ संघले पेश गरेको माग पूरा गर्ने सम्बन्धमा कार्यदल बनाएकाले अबको एक हप्ता प्रतिक्रिया कुरेको अध्यक्ष दाहालले स्पष्ट पारिन् ।

नेपाल नर्सिङ संघले गत कात्तिक २ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा विभिन्न माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । श्रमिकको रुपमा हेरिएको दक्ष नर्सिङ जनशक्तिलाई स्वास्थ्य ऐनअन्तर्गत व्यवस्थापन गरिनुपर्ने, रात्रिकालीन वा सार्वजनिक वा चाडपर्व बिदाको दिनमा काम गरेबापत सरकारी, निजी तथा शिक्षण अस्पतालमा अतिरिक्त तथा जोखिम भत्ताको व्यवस्था गरिनुपर्ने, योग्यता र अनुभवको आधारमा स्तरवृद्धि तथा बढुवाको व्यवस्था हुनुपर्ने, ग्रेडको व्यवस्था हुनुपर्ने, औद्योगिक नर्सको व्यवस्था हुनुपर्ने लगायत १५ बुँदे मागसहित आन्दोलनको कार्यक्रम सुरु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*