मकैसँगै लगाइएको पिँडालुबाट इन्द्रसरोबरका किसानलाई राम्रो आम्दानी

साझाकुरा
२०८२ कार्तिक १५, शुक्रबार ११:३१

हेटौंडा- मकवानपुरको ईन्सरोवरका किसानले पछिल्ला वर्ष पिँडालुबाट राम्रो आम्दानी लिन थालेका छन् । हरिबोधिनी एकादशी अर्थात् ठूलो एकादशीका सममाग बढ्ने भएकाले यहाँका किसानले मकैभित्रै पिँडालु लगाउने गरेका छन् । मकैसँगै लगाउँदा खानका लागि मकै र आम्दानीका लागि पिँडालु दुवै उत्पादन हुने भएकाले किसान यसतर्फ आकर्षित भएका हुन् । व्यावसायिकरुपमा पिँडालुखेती नगरे पनि मकैसँगै लगाइएका पिँडालुबाटै एकैपटक ४० देखि ५० हजार रुपैयाँसम्म आम्दानी हुनेगरेको किसानको भनाइ छ । पहिले मकैमात्र हुने यो क्षेत्रमा सडक विस्तारसँगै पछिल्ला वर्षमा तरकारी र नगदे बालीतर्फ किसानको आकर्षण बढेको छ । स्थानीय बुद्धिमाया थिङले करिब दुई रोपनी क्षेत्रफलमा पिँडालु लगाइएकी छिन् ।

उनकाअनुसार पिँडालु खेतीमा मेहनत कम पर्नुका साथै सिँचाइको आवश्यकता पनि नपर्ने भएकाले किसान यो खेतीतर्फ आकर्षित भएका हुन् । प्रतिरोपनी एक हजारदेखि १२ सय किलोसम्म पिँडालु उत्पादन हुने गरेको स्थानीय किसानले बताएका छन् । गतवर्ष उनले करिब ५० हजार रुपैयाँको पिँडालु बिक्री गरेकी थिइन् । बजारमा माग धेरै हुने भएकाले बिक्रीमा कुनै समस्या नआएको उनको भनाइ छ । यहाँ उत्पादन हुने पिँडालु काठमाडौंको कालिमाटी बजारसम्म पुग्ने गरेको छ । हाल किसानको बारीबाटै प्रतिकिलो ८० रुपैयाँमा पिँडालु बिक्री भइरहेको छ ।

पिँडालुको गानो, सेलो उसिनेर खाने गरिन्छ । कर्कलोबाट मस्यौरा बनाउने र गाभा (पात) समेत विभिन्न परिकार बनाउन प्रयोग गरिन्छ । ठूलो एकादशीका अवसरमा पिँडालु र सक्खरखण्डको माग विशेषरुपमा बढ्ने गरेको छ । एकादशी फलाहार गर्ने परम्परागत चलन भएका कारण ठूलो एकादशी र माघे संक्रान्तिमा पिंडालु, सख्खरखण्ड, तरुललगायत कन्दमूलको ब्यापार बढ्ने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*