कार्तिक १९ गतदेखि एन्फा प्रेसिडेण्ट लिग हुने
हेटौंडा, १३ कात्तिक÷ हेटौंडामा कार्तिक १९ गतेदेखि एन्फा प्रेसिडेण्ट लिग फुटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने प्रतियोगितामा सातवटै प्रदेशका लिग च्याम्पियन क्लबसहित १० टोलीको सहभागिता रहनेछ ।मकवानपुर जिल्ला फुटबल संघको समन्वयमा हेटौंडा–६ स्थित गौरिटार रंगशालामा प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामासहभागी हुने १० वटै क्लबलाई तयारी खर्चबापत एन्फाले ७ लाख ५० हजार रुपैयाँ प्रदानगरेको छ भने खेल तालिका सार्वजनिक भइसकेको छ ।
मंसिर २ गतेसम्म हुने प्रतियोगिताको विजेता र उपविजेता टोलीले क्रमशः १० लाख र ५ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने अन्य विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
एन्फा प्रेसिडेण्ट लिगमा समूह ‘ए’ मा जनजागृति युवा क्लब, चित्लाङ एफसी, विजय स्पोर्टस् क्लब, लालिगुराँस एसोसिएसन क्लब रदेउराली युथ क्लब रहेका छन् भने समूह ‘बी’ मा नवजागृति क्लब, हैसान्स क्लब, टाइगर टिम, गाइघाट एफसी र काँक्रेविहार युथ क्लब रहेका छन् । प्रतियोगिताको उद्घाटन खेल चित्लाङ एफसी र देउराली युथ क्लबबीच हुनेछ ।







