हरिबोधनी एकादशी : थाहा, भीमफेदी र मकवानपुरगढीमा विशेष मेला
हेटौंडा-कात्तिक शुल्क एकादशी अर्थात् हरिबोधिनी एकादशीको अवसरमा मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ मा रहेको त्रीखण्डी मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । मकवानपुरका भिभिन्न स्थानका साथै छिमेकी जिल्ला बारा पर्सा र चितवनदेखि यहाँ मन्दिरमा पूजाआजा गर्न तथा पर्यटक आउने गरेका छन् । धार्मिक पर्यटकीयक्षेत्रको रुपमा महत्वपूर्ण मानिने यस मन्दिर पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य बन्न थालेको छ । त्रिखण्डीमा आउने भक्तजन मन्दिरमा पूजाआजा गर्ने तथा नजिकै रहेको झरनामा रमाउने गरेका छन् । पानी परिरहेकाले यो पटक भक्तजनको भीड भने छैन । बिगतका वर्षहरुमा बेलुकासम्म पूजा गर्नेहरुको लामो लाइन हुने भएपनि पानी परेकाले त्रीखण्डी र बंशगोपाल मन्दिरमा पूजा गर्न आउनेहरु कमै मात्र रहेका छन् ।
कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । आजको दिन बेलुको तुलसीको मोठमा पूजा गर्ने चलन छ । थाहा नगरपालिकास्थित ऋषेश्वर मन्दिर, मकवानपुरगढीमा विशेष मेला लागेको छ । शास्त्रीय मान्यताअनुसार आजका दिनमा क्षीरसागरमा सुत्नुभएका भगवान विष्णु ब्युँझनुहुने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भन्ने गरिएको हो । प्रतिकुल मौसमकाबीच थाहामा एकादशी जात्रा सकियोमकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ स्थित ऋषेश्वरमा लाग्ने ठूलो एकादशी (हरिबोधनी एकादशी) जात्रा सकिएको छ । प्रतिकूल मौसमकाबीच कार्तिक १५ गते लागेको जात्रा सौहार्दपूर्णरुपमा सकिएको ऋषेश्वर क्षेत्र विकास समितिका अध्यक्ष बिनोदकुमार लामाले जानकारी दिए ।
ऋषेश्वरमा वर्षेनी ठूलो एकादशीमा ठूलो मेला लाग्ने गर्दछ । यद्यपि यसपालि मौसम परिवर्तसँगे पानी परेकोले भक्तजनको उपस्थिति तुलनात्मकरुपमा घटेको अध्यक्ष लामाले बताए ।मेला व्यवस्थापनका लागि यसअघि बैठक बसी तयारी व्यवस्थित गरिएको थियो । ‘हामीले मेलालाई व्यवस्थितरुपमा सञ्चालनका लागि तयारी गरेका थियों, झरीले मेलाजात्रा प्रभावित भयो’ समितिका अध्यक्ष लामाले भने–‘यसवर्षदेखि भेटी संकलन तथा व्यवस्थापनको जिम्मा क्षेत्र विकास समितिलेलिएको थियो ।’
मेलालाई व्यवस्थितरुपमा सञ्चालनको तयारीका लागि थाहा नगरपालिका, वडा, समितिका पदाअधिकारी तथा अन्य सामाजिक संस्थाले पु¥याएको योगदानको अध्यक्ष लामाले प्रशंसा गरे । उनले जात्रा व्यवस्थापनमा प्रत्येक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएका छन् । यसवर्ष ऋषेश्वरमा ठूलो एकादशीको दिन ११ हजार ६ सय ७३ रुपैयाँ भेटी संकलन भएको क्षेत्र विकास समितिले विवरण समार्वजनिक गरेको छ । ठूलो एकादशी जात्रालाई व्यवस्थापनको क्रममा पूजारीलाई १ हजार पाँच सय सहयोगी पूजारीलाई पाँचसय र सरसफाइ खर्च सातसय रुपैयाँ खर्च विवरण विकास समितिले खर्चको विवरण सार्वजनिक गरेको छ ।
समितिले सार्वजनिक गरेको आम्दानी खर्चको विवरण अनुसार संकलित भेटीमध्ये ८ हजार ९ सय ७३ रुपैयाँ संचित भएको छ । ठूलो एकादशी जात्रामा ऋषेश्वरमा पाण्डुकेश्वरको मुकुट लैजाने र ऋषेश्वरमा ठूलो मेला लाग्ने प्रचलन रहेको छ । मुकुट लैजाने पनि वनको बाटोको भिन्दै रुट रहेको छ । ठूलो एकादशी मेला सम्पन्न भएको केही दिनपश्चात् पाण्डुकेश्वरमा रुद्री लगाउने प्रचलन रहेको छ । यसवर्ष पनि ऋषेश्वरमा स्थानीयलगायत अन्य जिल्लाका भक्तजन पूजाआरधानाका लागि ऋषेश्वर पुगेका थिए ।







