मकवानपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु

साझाकुरा
२०८२ कार्तिक १८, सोमबार ११:५२

हेटौंडा- मकवानपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ । छ जना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका–८ स्थित राजपानी टोलको भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा हेटौंडा –८ को कमानेका आयुष बस्नेतको गएराति मृत्यु भएको हो । कालिका मन्दिरबाट कमानेतर्फ जाँदै गरेको बा.प्र.०६–००२ प ४८६२ नं. को मोटरसाइकल अनियन्त्रित भई पल्टिएर दुर्घटना भएपछि मोटरसाइकल चालक २४ वर्षीय बस्नेतलाई घाइते अवस्था उद्दार गरिएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ । बस्नेतलाई उपचारको लागि हेटौंडा अस्पताल पठाएकोमा डाक्टरले जाँच गर्नेक्रममा शनिबार राति मृतघोषणा गरेको प्रहरीको भनाइ छ ।

यस्तै, मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–४ पानधुरेमा शनिबार राति १०ः३० बजे मोटरसाइकल दुर्घटनामा चालकसहित तीनजना घाइते भएका छन् । पानधुरेबाट हात्तीसुँडेतर्फ आउँदै गरेको बा.प्र.०२–०३८ प ८११४ न.को मोटरसाइकलले सोहीस्थान बस्ने पैदलयात्री बद्री गौतमलाई ठक्कर दिएको हो । मोटरसाइकल चालक सोहीस्थान बस्ने वर्ष २५ को फुर्साङ घलान र मोटरसाइकल पछाडि सवार सोहीस्थान बस्ने १७ वर्षीय आकाश भोलनसमेत घाइते भएका छन् । गौतम र घलानको शरीरको विभिन्न भागमा चोट लागेर अवस्था गम्भीर रहेको र भोलनको अवस्था सामान्य रहेको रहेको प्रहरीले जनाएको छ ।

भोलन मकवानपुर सहकारी अस्पताल हेटौंडामा उपचारपछि घर फर्किएका छन् । घलान र गौतमलाई थप उपचारका लागि आइतबार नयाँ मेडिकल कलेज चितवनमा पठाइएको छ । यसैगरी फाखले–हुमाने–काठमाडौँ सडक खण्डको इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मीखोलामा काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको वा.प्र.०६–००१ ज ०५२८ न.को विद्युतीय गाडी गएराति ९ः१५ बजेको समयमा चिप्लियर सडकबाट करिब २० मिटर तलखसी दुर्घटना हुँदा गाडीका चालकसहित तीनजना घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार रौतहटको परवाहा नगरपालिका–५ का वर्ष २२ का प्रवेश अन्सारी, २२ वर्षीय मुसाद आलम र पहिचना नखुलेका एक व्यक्ति दुर्घटनामा घाइते भएका हुन् । अन्सारी र आलमको ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*