ब्लड बैंकदेखि पिपलबोटसम्मको भित्री सडक बिस्तारकार्य सुरुहुने
 हेटौंडा- हेटौंडा उपमहानगरपालिका–१ मा ब्लड बैंकदेखि मोडल अर्थोपेडिक अस्पताल हुँदै पिपलबोटसम्मको भित्री सडक बिस्तारकार्य सुरुहुने भएको छ । सडक बिस्तारको तयारी स्वरुप सोमबार यो क्षेत्रको नापजाँच सम्पन्न गरिएको छ । जनप्रतिनिधि, नगरप्रहरी, प्राविधिक टोली तथा स्थानीयवासीको उपस्थितिमा हेटौंडा उपमहानगरको प्राविधिक टिमले सडकको नापजाँच गरेको हो । गत आर्थिक वर्षको ४० लाख रुपैयाँ बाँकी रहेकाले यसवर्ष थप रकम विनियोजन गरेर काम अगाडि बढाइएको वडा अध्यक्ष सबिन न्यौपानेले जानकारी दिएका छन् । बजेट सुनिश्चित भई ठेक्का सम्झौता भइसकेकाले अब ढुक्कसँग काम अघि बढ्ने अध्यक्ष न्यौपानेको भनाइ रहेको छ ।
२०८१ चैत्र १३ गते मायांक कन्स्ट्रक्सन पुतलीसडकसँग २०८२ पुस मसान्तसम्म काम सक्नेगरी १ करोड १५ लाख रुपैयाँ लागतमा सम्झौता भएको वडाअध्यक्ष न्यौपानेले बताए । उनका अनुसार १० मिटर चौडाइको सडक निर्माण हुनेछ । ‘यसमध्ये ६ मिटर भाग कालोपत्रे गरिनेछ भने दायाँ–बायाँ डेढ–डेढ मिटर चौडाइमा ढल तथा पेटी निर्माण गरिने योजना रहेको छ’ उनले भने । सडक विस्तारका क्रममा केही निजी संरचना हटाउनुपर्ने देखिएको छ । स्थानीयले समयमै संरचना हटाइदिए सडक निर्माण छिटो गतिमा अघि बढ्ने अध्यक्ष न्यौपानेले बताए ।
वर्षायाम र चाडपर्वका कारण ढिलो सुरु भएको काम अब छ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यराखिएको छ । यसअघि पनि पटकपटक नापजाँच र योजना बनाएर सडक बिस्तारको कुरा भएपनि कार्यान्वयन हुन नसक्दा स्थानीय निराश बनेका थिए । ‘यहाँ धेरैचौटी नापजाच भइसक्यो तर, पनि सडक बन्न सकेको थिए, अब चाहिँ बन्छ कि भन्ने आश लागेको छ’ स्थानीय अमृत पुडासैनीले भने । अर्का स्थानीय मायादेवी शाहीठकुरीको पनि त्यस्तै धारणा रहेको छ । ‘यो सहित ७ पटक नापेर गइसक्यो, अब चाहिँ होला जस्तो छ’ उनले भनिन् ।
सडक साँघुरो हुँदा साना सवारीसाधन समेत आवागमनमा कठिनाइ हुने गरेको यो क्षेत्रमा अब सडक विस्तार र स्तरोन्नति हुने भएपछि स्थानीयवासी उत्साहित भएका छन् । यो सडकमार्ग ब्लड बैंक, मोडल अर्थोपेडिक अस्पताल, हेटौंडा अस्पताल र सिटी अस्पताल, मकवानपुर सहकारी सम्म जोडिने भित्री मार्ग हो । साथै, यो बाटो तरकारी थोकबजारका लागि समेत अत्यावश्यक मानिन्छ ।







