पहिलो त्रैमासिकमा लक्ष्यको ७८ प्रतिशत राजश्व संकलन
 हेटौंडा- चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासिकमा आन्तरिक राजश्व कार्यालय हेटौंडाले लक्ष्यभन्दा कम राजश्व संकलन गरेको छ ।साउनदेखि असोज सम्मको त्रैमासिकमा कार्यालयले लक्ष्यको ७८ प्रतिशत राजश्व संकलन गरेको हो । कार्यालयको अनुसार १ अर्ब ९५ करोड ४९ लाख ४२ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा १ अर्ब ५३ करोड १५ लाख २३ हजार ८० रुपैयाँ संकलन भएको हो । कार्यालयले पहिलो त्रैमासिक अवधिमा ३७ पटक बजार अनुगमन गरेको छ ।
अनुगमनबाट शुल्क तथा जरिवानाबापत ४२ हजार रुपैयाँ संकलन गरेको छ । व्यावसायिक स्थायी लेखा नम्बर दर्तातर्फ कार्यालयले ८ सय १३ वटा नयाँ दर्ताको लक्ष्य राखेकोमा ५७ प्रतिशत अर्थात् ४ सय ६६ जनाले मात्र दर्ता गराएका छन् । यसैगरी, अन्तःशुल्क नवीकरणतर्फको लक्ष्यको ५५ प्रतिशत अर्थात् १ हजार १ सय १३ जनाले नवीकरण गराएका छन् । हालसम्मको तथ्यांकअनुसार ३४ हजार ६ सय ४० जनाले आयकर दर्ता गराएका छन् । मूल्य अभिवृद्धि कर दर्ता गराउनेको संख्या ६ हजार ६९ रहेको छ भने अन्तःशुल्क दर्ता गराउनेको संख्या १ हजार ५ सय ९९ रहेको छ । कुल व्यावसायिक स्थायी लेखा नम्बर दर्ता गराउनेको संख्या ८८ हजार ८ सय ५८ पुगेको छ ।
चालु आर्थिक वर्ष २०८२÷८३ मा विनियोजित बजेटमध्ये चालुतर्फको २ करोड ६५ लाख ६४ हजार रुपैयाँमध्ये ४५ लाख ९० हजार ९ सय २९ रुपैयाँ खर्च भएको छ । त्यस्तै, पुँजीगततर्फ विनियोजित २ करोड १० लाख १२ हजार रुपैयाँमध्ये ४४ लाख ७९ हजार ३ सय ३० रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।







