स्वर्णमहोत्सवका अवसरमा शारदा माविले शिक्षक भलिबल गर्ने
 हेटौंडा- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ धादिङमा रहेको शारदा माध्यमिक विद्यालयको स्वर्णमहोत्सवका अवसरमा जिल्लास्तरीय शिक्षक भलिवल प्रतियोगिता हुने भएको छ ।नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको आयोजनामा शारदा मावि प्राङगणमा आगामी मंसिर ५ र ६ गते जिल्लास्तरीय रनिङ शिल्ड शिक्षक भलिबल प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको सम्पूर्ण आतिथ्य तथा व्यवस्थापन शारदा माध्यमिक विद्यालयस्थित जुनियर रेडक्रस सर्कलले गर्ने विद्यालयले जनाएको छ । जिल्लाभरका सामुदायिक तथा संस्थागत विद्यालयबीच मैत्रीपूर्ण प्रतिस्पर्धामार्फत शिक्षक तथा कर्मचारीबीचको खेलकुद संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले भलीबल खेलको आयोजना गरिएको शारदा माविका प्रधानध्यापक इन्द्रबहादुर कार्कीले बताए ।
आयोजकका अनुसार प्रत्येक विद्यालयबाट बढीमा १० जना खेलाडी शिक्षक तथा कर्मचारी सहभागी हुन पाउनेछन् । सहभागी खेलाडी २०८२ वैशाख मसान्तसम्म नियुक्ति भएका व्यक्तिमात्र हुनुपर्ने र नियुक्तिपत्रको प्रतिलिपि अनिवार्य रुपमा टिमको नामावलीमा समावेश गरिनुपर्नेछ । खेल अन्तर्राष्ट्रिय भलिबल महासंघको नियमअनुसार नकआउट प्रणालीमा सञ्चालन हुनेछ । विद्यालयको लेटरप्याडमा प्रअको प्रमाणित नामावली, व्यानरसहितको सामूहिक फोटो तथा आवश्यक कागजात पेश गरिसकेपछि टिम दर्ता मान्य हुने विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष नवराज हुमागाईले बताए ।
यदि कुनै विद्यालयका खेलाडीमाथि आपत्ति वा दाबी रहेको अवस्थामा खेल समाप्त भएको ३० मिनेटभित्र प्रमाणसहित ३ हजार रुपैयाँ बुझाएर निवेदन दिन सकिने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विद्यालयले नगद ५० हजार, रनिङशिल्ड, मेडल तथा प्रमाणपत्र पाउनेछ । द्वितीय हुने टोलीलाई ३० हजारसहित शिल्ड, मेडल एवं प्रमाणपत्र र सान्त्वना उपाधि प्राप्त दुई टोलीलाई जनही १५ हजारसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट लिफ्टर पुरस्कारस्वरुप नगदसहित मेडल तथा प्रमाणपत्र पाउनेछन् । सहभागी टिमका लागि खान र बस्ने व्यवस्था आयोजक विद्यालयले गर्ने जनाएको छ । टिम दर्ता शुल्क प्रतिटिम ३ हजार रुपैयाँ रहनेछ । टिमदर्ता आउँदो मंसिर ४ गते दिउँसो २ बजेभित्र फोन वा इमेलमार्फत् गर्न सकिनेछ । सोही दिन दिउँसो ३ बजेपछि खेलतालिका सार्वजनिक गरिनेछ । कुनै टिमका प्रतिनिधि अनुपस्थित हुँदा तालिका प्रकाशनमा असर नपर्ने तथा प्राविधिक कारणले आवश्यक परेमा तालिका हेरफेर गर्न सकिने आयोजक समितिको भनाइ छ ।
शारदा माविले आफ्नो ५० औं वार्षिकोत्सव ‘स्वर्णमहोत्सव’ विशेष बनाउन मंसिर २ गते अभिभावक लोकदोहोरी प्रतियोगिता आयोजना गर्ने जनाएको छ । टोली दर्ता कार्तिक २५ गतेसम्म खुला रहनेछ । टोली दर्ता शुल्क ५०० तोकिएको छ । प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्ने प्रधानध्यापक कार्कीले बताए । एक टोलीमा तीनजना रहने व्यवस्था मिलाइएको छ, जसमा कम्तिमा एकजना अभिभावक अनिवार्य हुनेछन् । वाद्यवादन तथा खाना विद्यालयले उपलब्ध गराउने सूचनामा उल्लेख छ । दुवै कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न विद्यालय तथा रेडक्रस शाखाले सबै विद्यालय र स्थानीय समुदायको सक्रिय सहभागिताको अपेक्षा गरेका छन् ।







