कैलाशका पाँच टोल पूर्णसरसफाई तथा खानेपानीयुक्त घोषणा
 हेटौंडा- मकवानपुरको कैलाश गाउँपालिका–१० का पाँचवटा टोललाई पूर्णसरसफाईउन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणागरिएको छ । सोमबार एक कार्यक्रमका बीच कौशीराङ–घट्टेचौर, कुमलटार, भाल्टार, सागिने र बाँझखेत टोललाई वडा अध्यक्ष सूर्यबहादुर ब्लोनको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा घोषणा गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मुक्तानले खानेपानी आमनागरिकको नैसर्गिक र मौलिकअधिकार रहेको बताए । खानेपानीको कार्यक्रमलाई दीगोपना दिन गाउँपालिकाले विभिन्न संस्थासँगको साझेदारीमा काम गरिरहेको अध्यक्ष मुक्तानले बताए । पानीको मुहान दर्ता गर्न आग्रह गर्दै मुहानको बीमा कार्यक्रम गाउँपालिकाले ल्याएको छ, दर्ता भएका मुहानको विपदमा भत्किएको अवस्थामा बीमामार्फत निर्माण गर्न सहजरहन्छ, मुक्तानले भने ।
खानेपानी शुद्धीकरण गर्न फिल्टर वितरण गरिएको र फिल्टरको मात्रै पानी प्रयोग गर्न आग्रह गरेका छन् ।पानीका ट्यांकीलगायत अन्य संरचनाको सबै मिलेर व्यवस्थापन गर्न अध्यक्ष मुक्तानले निर्देशन दिए । ३ हजारदेखि पैतीस सय घरधुरीमा एकघर एकधारा निर्माण गरिने लक्ष्य राखिएको उनले बताए । खानेपानी मात्र नभई सरसफाईमा समेत ध्यान दिन आग्रह गर्दै गाउँपालिकाले खानेपानीको क्षेत्र सहित विकास निर्माणका सडक तथा अन्य भौतिक संरचनाका कार्य धमाधम भइरहेको उनले बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले सरसफाईका सूचक र उपसूचकलाई पालना गर्न अनुरोध गरेका थिए । गरिएको प्रतिवद्धताअनुरुप काम गरिनुपर्ने बताउँदै खानेपानीको मुहानदेखि घरको धारासम्मका संरचना संरक्षण गर्नुपर्ने बताए । खानेपानी हामी सबैको मौलिक हक हो, शुद्ध खानेपानी पिउनका लागि गाउँपालिकाले साझेदारीमा काम गर्दै आइरहेको उपाध्यक्ष मल्लले बताए । फोहार पानी पिउँदा विभिन्न रोग लाग्ने वडाध्यक्ष ब्लोनले बताए । उनले मुहानदेखि भान्सासम्म पानी सफा हुनुका साथै घर, शौचालय, भान्सा, टोल समुदाय सफा राख्नु सबैको सामूहिक दायित्व रहेको बताए ।
ग्रामीण पुर्ननिर्माण केन्द्र (आरआरएन) का जिल्ला संयोजक लीलबहादुर कार्कीले प्रदुशित पानीले ६० प्रतिशत रोग लाग्ने बताए । जर्मन सरकारको डब्लुएचएचको सहयोगमा आरआरएनले गाउँपालिकासँग सहजीकरण गरी साझेदारीमा शुद्ध खानेपानी प्रयोग गरिनुपर्छ भनेरसुरक्षित पानी, सरसफाई अभियान सञ्चालन गरिएको बताए । ‘सचेतना बढाउनुस्, सोच बदल्नुस, पानीको महत्व फराकिलो रहेको’ उनले बताए । सरसफाईका ७ सूचक र २३ वटा उपसूचकलाई सबैले पालना गर्न आग्रह गरेका थिए ।
कार्यपालिका सदस्य सुन्तली सुनुवार, वडासदस्य जुनसरी राई र दिनेशकुमार थिङ, पूर्व वडाअध्यक्ष माणिकलाल मोक्तान, आधारभूत स्वास्थ्य केन्द्र भाल्टारका प्रमुख सन्तोषकुमार सिंह, कौशीराङ–घट्टेचौर खानेपानी उपभोक्ता समितिका अध्यक्ष संवेग सिन्तान, शान्तिश्रृजना आधारभूत विद्यालयका अध्यक्ष कमल अर्याल, खानेपानी समितिका अध्यक्ष हर्कबहादुर तितुङलगायतको आतिथ्यता रहेको थियो । कोशीराङ–घट्टेचौरटोलमा ३३ घरधुरी र कुमलटार, भाल्टार, सागिने र बाँझखेत टोलमा ९५ घरधुरीमा एकघर एकधारा निर्माण भएका छन् । सागिने टोल भने वडा नम्बर ९ मा पर्दछ ।







