चुनावका लागि आवश्यक ७९ मध्ये १४ प्रकारका सामग्री किने पुग्ने

साझाकुरा
२०८२ कार्तिक २०, बुधबार १०:५७

हेटौंडा- आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको चुनावका लागि चाहिने सामग्रीको सूची तयार भएको छ ।निर्वाचन आयोगले ७९ प्रकारका सामग्री चाहिने भनेर सूची तयार पारेको हो । त्यसमध्ये १४ वस्तु खुला प्रतिष्पर्धाबाट किन्ने तयारी छ । नेपालमा उपलब्ध हुने र मुलुक बाहिरबाट आयात गर्नुपर्ने गरी दुई प्रकारका सामग्रीको जोहो गर्न आयोग लागेको निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । निर्वाचनमा मतपेटिका, औँलामा चिह्न लगाउने नउड्ने मसी भएको मार्कर पेन, पित्तलको स्वस्तिक चिह्न छाप, स्ट्याम्प प्याड र स्ट्याम्प प्याड मसी आवश्यक पर्दछ । कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टेपलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर, कैँची पनि चाहिन्छ ।

निर्वाचनसम्बन्धी ऐन, नियम, निर्देशिका, कार्ड, कपडाको थैलो, मतदान कक्षको छेकवारा, फारमलगायत सामग्री पनि आवश्यक पर्छ । २०७९ सालको निर्वाचनमा कोरोना भाइरस (कोभिड–१९) को प्रकोपको कारण माक्स, स्यानिटाइजर लगायत गरी ९४ सामग्रीको प्रयोग भएको थियो । यसपटक घटेर ७९ प्रकारका सामग्री चाहिने भनेर सूची तयार भएको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने सामग्री स्थानीयस्तरमै किन्न सकिने सामग्रीको प्रयोग गर्ने बताए । उनका अनुसार निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने ७९ मध्ये १४ सामग्री मात्र खुला प्रतिष्पर्धाबाट किन्ने आयोगको तयारी छ ।

मतपत्र छपाईका लागि आवश्यक पर्ने कागज र मतपेटिकाहरु आयोगसँग स्टक रहेकोले किन्नु पर्दैन । ‘अधिकांश सामानहरु स्थानीयस्तरमै किन्न सकिने भएकोले त्यहीबाट किनेर प्रयोग गर्ने व्यवस्था मिलाएका छौं’ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भनेका छन्, ‘त्यसका अतिरिक्त आयोगले खुला प्रतिष्पर्धामार्फत् खरिद गर्नुपर्ने सामग्री १४ प्रकारका मात्रै छन् ।’ १४ प्रकारका सामग्रीमा पनि स्वदेशी उत्पादनका वस्तुलाई नै प्राथमिकता दिनेगरी र केही सामान मात्र विदेशबाट खरिद गर्नेगरी तयारी गरिरहेको उनले जानकारी दिए ।

उनी थप्छन्, ‘मतपत्र छपाईका लागि आवश्यक पर्ने कागज विदेशबाट किन्नुपर्नेमा त्यो पनि अहिले स्टक भएकैले पुग्छ । मतपेटिका पनि हामीसँग सुरक्षित छन् । पुरानै मतपेटिका पनि हामी आवश्यक सुधार गरेर प्रयोग गर्छौं ।’ अन्य मसी र कलमलगायत सामान्य प्रकृतिका वस्तुहरु भने खरिद गर्नुपर्ने हुन्छ । खरिद गर्नुपर्ने वस्तु पहिचान गरेर खुला प्रतिष्पर्धाबाट खरिद गरेर त्यसको व्यवस्थापन गर्ने तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*