रक्तदान र स्लो मोटरसाइकल रेस सम्पन्न
हेटौंडा-जेसीआई हेटौंडाको जेसीज सप्ताह २०२५ अन्तर्गत मंगलबार रक्तदान र स्लो मोटरसाइकल रेस प्रतियोगिता सम्पन्न भएको छ । ‘रक्तदान जीवनदान’ भन्ने मुलनाराको साथ हेटौंडा–४ स्थित हुप्राचौरमा सम्पन्न भएको पहिलो कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् । कार्यक्रममा रक्तसञ्चार केन्द्र मकवानपुरको प्राविधिक सहयोग रहेको थियो । ‘त्यसैगरी तीव्र गति, जीवन क्षति’ भन्ने मुलनाराको साथ दोस्रो कार्यक्रम स्लो मोटरसाइकल रेस प्रतियोगितामा हेटौंडा–५ निवासी विक्रम उलक प्रथम, हेटौंडा–५ कै मित्रप्रसाद गौतम द्वितीय र हेटौंडा–२ का विवेक बानियाँ तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।
हेटौंडा–४ शितल महल चोकदेखि हुप्राचौर गेटसम्म भएको प्रतियोगितामा २५ जना सहभागी थिए । प्रतियोगितामा सहभागीलाई प्रहरीउपरीक्षक सुबासचन्द्र बोहराबाट प्रमाणपत्र एवम् प्रथम, द्वितीय र तृतीय हुनेलाई मेडल तथा पुरस्कार वितरण गरिएको थियो । सन् २०२५ का शाखाअध्यक्ष पंकजदास बानियाँको सभाअध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रमको संयोजक विनोद वाग्ले एवम् मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठानका रजिष्ट्रार भीमसागर गुरागाई प्रमुख अतिथि थिए, भने अशोक सिंहको संयोजकत्वमा भएको खुल्ला स्लो मोटरसाइकल रेस प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरीउपरीक्षक बोहराको प्रमुख आतिथ्यता रहेको थियो ।
सप्ताहव्यापी कार्यक्रममा जेसीआई हेटौंडा सन् २०२० का शाखा अध्यक्ष राजदेव बानियाँ, २००८ का शाखा अध्यक्ष तथा वर्ष २०२५ का प्रमुख बोर्ड सल्लाहकार एवम् बोर्ड अफ ट्रष्टीका अध्यक्ष कुश रिजालको आतिथ्यतासँगै जेसीज सदस्यहरुको उपस्थिति रहेको थियो । २०२५ को जेसीज सप्ताहका लागि मूल कार्यक्रम संयोजक सन्तोष पराजुली र सहमूल कार्यक्रम संयोजक किरण आले रहेका छन् । कार्यक्रम सञ्चालन जेसीआई हेटौंडा सन् २०२५ का महासचिव संजयकुमार न्यौपालेले गरेका थिए ।







