कैलाशको चेपाङबस्तीमा एकघर एकधारा निर्माण
हेटौंडा- मकवानपुरको कैलाश गाउँपालिका–७ को रतुवा र ताम्लाङका ३२ घरमा एकघर एकधारा निर्माणगरिएको छ । चेपाङ समुदायको बसोबास रहेको टोललाई मंगलबार एक कार्यक्रमकाबीच पूर्णसरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । टोललाई वडाअध्यक्ष उदासकुमार भोलनको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानकोप्रमुखआतिथ्यतामा घोषणा गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मुक्तानले खानेपानी आमनागरिकको मौलिक अधिकार भएको बताएका छन् । ‘मानव जीवनमा पानी र सरसफाई अपरिहार्य रहने भएकाले शुद्ध खानेपानी पिउन सबैमा अनुरोध छ’ अध्यक्ष मुक्तानले भने ।
खानेपानीको कार्यक्रमलाई दीगोपना दिन गाउँपालिकाले विभिन्न संस्थासँगको साझेदारीमा काम गरिरहेको बताउँदै उनले खानेपानी दीगो बनाउनको लागि उचित शुल्क उठाउनुपर्ने बताए । ‘यही रकमले मर्मतसम्भारका साथै खानेपानीका संरचना संरक्षण गर्न सहजता हुन्छ । पानीको मुहान दर्ता गर्न आग्रह गर्दै मुहानको बीमा कार्यक्रम गाउँपालिकाले ल्याएको छ, दर्ता भएका मुहानको विपद्मा भत्किएको अवस्थामा बीमामार्फत निर्माण गर्न सहज रहन्छ’ मुक्तानले भने ।
प्रत्येक घरलाई फिल्टर प्रदान गरिएकाले खानेपानी शुद्धीकरण गरेर फिल्टरको मात्रै पानी प्रयोग गर्न उनले आग्रहगरेका छन् । पानीका ट्यांकीलगायत अन्य संरचना संरक्षण गर्नु यहाँहरुको दायित्व हो, सबै मिलेर व्यवस्थापन गर्न अध्यक्ष मुक्तानले निर्देशन दिएका छन् । ‘एकघर एकधारा राज्यको नीति छ, सोहीअनुरुप हामीले क्रमिकरुपमा टोलटोलमा काम गरिरहेका छौं’ मुक्तानले भने । चेपाङ समुदायको बाहुल्यता रहेको यस वडामा स्वास्थ्य, शिक्षा र सरसफाईका क्षेत्रमा प्रदेश सरकारले पनि विभिन्न कार्यक्रम गरिरहेको उनले बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले खानेपानी तथा सरसफाईका सूचक र उपसूचकलाई पालना गर्न अनुरोध गरेका छन् । स्वास्थ्य भन्दा ठुलो केही नभएको बताउँदै धेरै रोग पानीबाट लाग्ने भएकाले आआफ्नो बानी परिवर्तन गर्नुपर्ने उनले बताए । प्रदुषित पानीबाट विभिन्न रोगव्यादी लाग्ने वडाध्यक्ष उदासकुमार भोलनले बताए । ‘यसअघि विलाउने टोललाई घोषणा गरेका थियौं अहिले यहाँ घोषणा गरियो, घोषणा गरेर मात्र नहुने भएकाले मुहानदेखि भान्सासम्म पानी सफा हुनका साथै घर, शौचालय, भान्सा, टोल समुदाय सफा राख्नु सबैको दायित्व हो’ वडाध्यक्ष भोलनले भने ।
३२ घरमा धारा, फिल्टर र शौचालय नभएको घरमा शौचालय निर्माण गरिएको उनले बताए । प्रदुषित पानीले ६० प्रतिशत रोग लाग्ने ग्रामीण पुनर्निर्माण केन्द्र (आरआरएन) का जिल्ला संयोजक लीलबहादुर कार्कीले बताए ।जर्मन सरकारको डब्लुएचएचको सहयोगमा आरआरएनले गाउँपालिकासँग सहजीकरण गरी साझेदारीमा शुद्ध खानेपानी प्रयोग गरिनुपर्छ भनेर सुरक्षित पानी, सरसफाई अभियान सञ्चालन गरिएको उनले बताए । ‘पानीको महत्व फराकिलो रहेकाले सचेतना बढाउनुस्, सोच बदल्नुस र सरसफाईका ७ सूचक र २३ वटा उपसूचकलाई पालना गर्नुस्’ उनले भने । कार्यक्रममा वडासचिव युगचन्द्र भट्टराई, ङिको स्वास्थ्यचौकी ताम्लाङका प्रमुख मेनुका ठाकुर, रतुवा–ताम्लाङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष शिवराम चेपाङ, सरस्वती प्राथमिक विद्यालयका प्रअ निर्मला सिन्तानलगायतको आतिथ्यता रहेको थियो ।







