आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

साझाकुरा
२०८२ कार्तिक २१, बिहीबार १२:५६

हेटौंडा-हेटौंडा उपमहानगरपालिकाले आज र भोलि दुईदिन नगरभित्रका सबै वडामा भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । उपमहानगरपालिकाको जनस्वास्थ्य शाखाबाट जारी सूचनाअनुसार ६ महिनादेखि पाँचवर्ष उमेर समूहका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम देशव्यापीरुपमा सञ्चालन हुँदै आएको र यसवर्ष पनि निरन्तररुपमा सञ्चालन गरिने जनाइएको छ । जनस्वास्थ्य शाखाका अनुसार हेटौडा उपमहानगरक्षेत्रका सबै वडा तथा टोलस्तरका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले अभिभावकलाई सम्पर्क गरी बालबालिकालाई तोकिएको मितिमा भिटामिन ए र जुकाको औषधि खुवाउन अनुरोध गर्ने तयारी गरेका छन् ।

कार्यक्रम बिहान १० बजेबाट सुरुभई बेलुकी ४ बजेसम्म सञ्चालन हुनेछ । पहिलो दिन कार्यक्रम सञ्चालन नभएको वडा भएमा अर्को दिन सञ्चालन गरिने र त्यसका लागि अभिभावकले नजिकको स्वास्थ्य स्वयंसेविकासँग सम्पर्क गर्न सक्ने जनाइएको छ । स्वास्थ्यकर्मी तथा स्वयंसेविकाले अभिभावकलाई भिटामिन ए को महत्व, बालबालिकामा हुने रोग प्रतिरोधात्मक क्षमता वृद्धि, र सरसफाइका विषयमा सचेतना प्रदान गर्ने जनाइएको छ । उपमहानगरका प्रमुख जनस्वास्थ्य अधिकृत सूर्यप्रसाद तिवारीका अनुसार, ‘यो कार्यक्रम बालबालिकाको दीर्घकालीन स्वास्थ्यसुरक्षाका लागि अत्यन्तै महत्वपूर्ण छ ।

हरेक वर्ष भिटामिन ‘ए’ वितरण र जुकाको औषधि खुवाउने अभियानले बालबालिकामा कुपोषण र अन्य रोगको जोखिम घटाउन ठूलो योगदान पु¥याएको छ ।’ यस्तै, जनस्वास्थ्य शाखाले अभिभावकलाई आफ्ना बालबालिकालाई समयमा औषधि खुवाउन आग्रह गर्दै कुनैपनि जानकारी वा सहयोग आवश्यक परे नजिकैको स्वास्थ्यस्वयंसेविका वा स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*