लाइसेन्स छाप्न सुरक्षण मुद्रण विभागको अनुमति कुर्दै प्रदेश सरकार
हेटौंडा- बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको प्रक्रिया सहज बनाउनका लागि अत्याधुनिक क्षमता भएको ५ थान मुद्रण मेसिन खरिद गरी स्थापना गरेको छ ।एउटा मेसिनले प्रतिघन्टा करिब १५० वटा सवारीचालक अनुमतिपत्र छाप्न सक्ने क्षमता राख्दछ । तर, सुरक्षण मुद्रण विभागबाट अनुमति नआएकाले खरिद गरिएका मेसिन सञ्चालनमा आउन सकेको छैन । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाका अनुसार, सवारी चालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेका तथा नवीकरणका लागि राजस्व तिरेका हजारौं नागरिक अझै लाइसेन्स पर्खाइमा छन् । आवश्यक राजस्व तिरेर कानुनी प्रक्रिया पूरा गरे पनि लाइसेन्स समयमै नपाउँदा सेवाग्राहीले असुविधा भोग्नुपरेकोछ । मन्त्री थापाले भने ‘जेनजी प्रदशनका क्रममा मन्त्रालय र जिल्लास्थित केही कार्यालय क्षति भएपनि हामीसँग प्राविधिक तयारी पूरा भइसकेको छ तर, सुरक्षण मुद्रण विभागको स्वीकृतिबिना कानुनी अड्चनका कारण छपाइ सुरुगर्न सकिएको छैन ।’
सुरक्षण मुद्रण ऐन २०८१ को दफा ९ को उपदफा ३ मा भएको व्यवस्थाबमोजिम प्रदेश सरकारले जनतामुखी सेवाप्रवाहलाई सुदृढ बनाउने लक्ष्यसहित यो पहल अघि बढाएको हो । अनुमतिपत्र छपाइ प्रदेशतहमै गर्न सकिने व्यवस्था मिलाउन सके जनतालाई सेवा छिटो र सहज हुने अपेक्षा प्रदेश सरकारले गरेको छ । हाल बागमती प्रदेशको १२ लाख र देशभरका १३ लाख गरी २५ लाख बढी सवारीचालक अनुमतिपत्र छप्न बाँकी छ ।
अहिले केन्द्रबाट छपाइ हुनुपर्ने व्यवस्थाका कारण छपाई ढिलो हुने, सामग्री ढुवानी र वितरणमा समय लाग्ने, तथा जनताले अनावश्यक दुःख भोग्नु पर्ने अवस्था कायम छ । बागमती प्रदेश सरकारले संघीय सरकारलाई आवश्यक स्वीकृतिका लागि पटकपटक पत्राचार गरेपनि अहिलेसम्म स्पष्ट निर्देशन र निर्णय नआएको मन्त्रालयले जनाएको छ । बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात सचीव वीरेन्द्रदेव भारतीले भने, ‘जनताको हितका काममा हामी प्रतिबद्ध छौं । आवश्यक अनुमति प्राप्त भएलगत्तै छपाइ प्रक्रिया सुरुगर्ने तयारी गरिएको छ ।’जनता सहज सेवा पाउने आशामा रहँदा अनुमति प्रक्रियाको ढिलासुस्तीले प्रदेश सरकारको जनउत्तरदायित्वपूर्ण प्रयासलाई संघीय सरकारले समन्वय गरेर अनुमति छिटो दिने हो भने हजारौं सेवाग्राहीले समयमै लाइसेन्स पाउने र सरकारप्रतिको जनविश्वास अझ बलियो हुनेछ ।







