हेटौंडा–१६ मा निर्माणधीन क्याम्पसलाई आगामी वर्षभित्र सम्पन्न गर्ने

साझाकुरा
२०८२ कार्तिक २४, आईतवार ११:५३

हेटौंडा- हेटौंडा क्याम्पसले हेटौंडा उपमहा नगरपालिका वडा नं. १६ मा निर्माणाधीन क्याम्पसको भवनलाई आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ ।शनिबार भएको क्याम्पसको १७ औं सभामा क्याम्पसको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीले विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त भवन निर्माण अनुदानलाई सम्पन्न गरी प्राविधिक धारका कार्यक्रम सञ्चालन गरिने बताएका छन् । हेटौंडा उपमहानगरपालिकासँग सहकार्य र समन्वय गरी शैक्षिक कार्यक्रम सञ्चालन गरिने उनले बताए । हाल क्याम्पस रहेको स्थानको पूर्वी भागमा होटेल म्यानेजमेन्ट सहित ल्याब सहितको भवन बनाउन बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमा प्रस्ताव गर्ने योजना पनि क्याम्पसको रहेको छ ।

शैक्षिक अडिटलाई नियमित गरी पठनपाठनको प्रक्रियामा अत्याधुनिक प्रविधि सञ्चालनमा योग्य बनाइने नीति तर्जुमा गरिने अध्यक्ष पराजुलीले बताए । उनका अनुसार आवश्यकता अनुरुप विभिन्न क्याम्पसहरुलाई समायोजन गर्ने र विश्वविद्यालयसँग सम्बन्धन तथा समायोजनको नीति लिइनेछ । अध्यक्ष पराजुलीले क्याम्पसको आर्थिकपक्षलाई सुदृढ पार्न श्रोतको खोजी गरिने र दाताको पहिचान गरिने बताए । आगामी वर्ष विद्यार्थी भर्ना दरलाई बढाउन समुदायमा आधारित कार्यक्रम क्याम्पसले सञ्चालन गर्ने भएको छ । शैक्षिक क्यालेण्डर निर्माण गरी प्रविधिमैत्री शिक्षामा जोड दिने नीति पनि क्याम्पसको रहेको छ ।

कार्यक्रममा क्याम्पसले प्रकाशन गरेको जर्नलको पनि विमोचन गरिएको थियो । मकवानपुर जिल्लामै पहिलो पिएचडी गरेका डा. गणेश बललामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामा, ४ नं. वडाअध्यक्ष नवीन सिग्देल, १६ नं. वडाअध्यक्ष रामकृष्ण कोइराला, नेकपा एमालेकी सचिव सीता विष्ट, कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुन चौलागाई, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, क्याम्पसका निवर्तमान अध्यक्ष मुनु सिग्देललगायत राजनीतिक दलका प्रतिनिधि, शैक्षिक क्षेत्रका सरोकारवालाको उपस्थिति रहेको थियो ।

क्याम्पसले विभिन्न संकायको वार्षिक परीक्षामा प्रथम हुने विद्यार्थीलाई पुरस्कृत गरेका छ । २०४५ मा रत्न ज्योति क्याम्पस काठमाडौंको शाखाको रुपमा २०४७ सालमा स्थापित यस क्याम्पसमा प्लस टु र त्रिविबाट सम्बन्धन प्राप्त गरी शिक्षाशास्त्र, व्यवस्थापन तथा मानविकी संकायअन्तर्गतको ४ वर्षे स्नातक र शिक्षाशास्त्र संकायमा २ वर्षे स्नातकोत्तर तहको पढाई सञ्चालन भइरहेको छ । हाल क्याम्पसमा १ हजार ४ सय ६१ विद्यार्थी अध्ययनरत् छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*