हिमालय क्षेत्रका सञ्चार विज्ञको दुईदिने संगोष्ठी सम्पन्न
हेटौंडा- हिमालय क्षेत्रमा सञ्चारको प्रभावकारी साझेदारीमा जोड दिँदै तेस्रो पारा हिमालय सञ्चार तथा समाजिक संगोष्ठी काठमाडौंमा सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता विभाग र सिचुवानस्थित युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (युइएसटीसी) को स्कुल अफ पव्लिक एडमिनिस्ट्रेसनको संयुक्त आयोजना भएको संगोष्ठीमा हिमालय आसपासका देशहरुका विज्ञ, शिक्षाकर्मी, शैक्षिक संस्थाहरु, संचारसंस्थाहरुले प्रभावकारी सञ्चार तथा सामाजिक विकासका लागि सामूहिक प्रतिवद्धता व्यक्त गरेका छन् । दुई दिनसम्म चलेको संगोष्ठीमा वक्ताहरुले यसक्षेत्रको विकासमा विभाजन नभइ साझेदारीमा जोड दिएका छन् ।
सम्मेलनमा युनिभर्सिटी अफ टेक्ससका प्रध्यापक अरविन्द सिंघलले हिमालयक्षेत्रका देशहरु साझा संस्कृतिले जोडिनुका साथै साझा समस्यासँग जुधिरहेको भन्दै यसक्षेत्रका देशबाट सञ्चारमाध्यमले साझा कथा बोल्नुपर्ने बताए । सञ्चारका प्रस्तुतीहरु समस्या समाधानका आवाज बन्नुपर्ने उनले बताए । भारतको कुमाउ विश्वविद्यालयकी प्रध्यापक दीपिका पन्तले पहाडी महिलासहरु यसक्षेत्रका समावेसी आवाज भएको भन्दै पहाडी क्षेत्रका महिलाको संघर्ष र उनीहरुको जीवनशैली नै यस क्षेत्रको प्रभावकारी सञ्चारको उदाहरण भएको बताइन् ।
उनले आधुनिकतासँगै भाषा संस्कृति लोप हुँदैगर्दा पूरानो इतिहास पनि मेटिने सम्भवाना रहेको बताइन् । संगोष्ठीमा भुटानको सूचना तथा मिडिया विभागका संस्थापक दाबा पेन्जोरले हिमालय आसपासका देशहरुले आफ्नो संस्कृति जोगाउँदै आधुनिक प्रविधिको अंगिकार गर्ने बताए । त्यस्तै युनिभर्सिटी अफ पञ्जावकी प्रध्यापक अविधा अस्रफले हिमालय क्षेत्र जलवायु परिवर्तनको मारमा रहेको भन्दै साझा समस्या समाधानका लागि साझा प्रयासहरु आवश्यक रहेको बताइन् । देशहरु सीमारेखाले विभाजित भएपनि प्राकृतिक प्रकोपलाई सीमारेखाले नछेक्ने बताउँदै उनले सञ्चारका सिग्नलहरु पनि रोकिन नहुने बताइन् । हिमालय आसापासमा सञ्चारको साझेदारी आवश्यक रहेको बताइन् ।
पान हिमालय कम्युनिकेसन रिसर्च सेन्टरका निर्देशक हान होङले हिमालय आसपासका देशबीचको साझेदारी यस क्षेत्रको सामूहिक विकास शान्ति र स्थायित्वयमा योगदान पु¥याउने बताए । पेरिफेरियल डिजिटल कम्युनिकेसन एण्ड रिजनल पव्लिक गभर्नेन्स भन्ने मुख्यनाराका साथ दुई दिनसम्म चलेको संगोष्ठीमा विभिन्न ९ देशका १५० बढी विज्ञको सहभागिता रहेकोथियो । सम्मेलनमा समानान्तर पाँच सत्रमा ६० कार्यपत्र प्रस्तुत भएका थिए । यसैबीच संगोष्ठीकै क्रममा त्रिवि र युइएसटीसीका जनप्रशासन विभागले संयुक्तरुपमा रिसर्च सेन्टर फर डिजिटल एण्ड इन्टिलिजिन्ट पव्लिक गभर्नेन्स इन पान हिमालय रिजनको स्थापना गरेका छन् ।







