माग सम्बोधन गर्न हेटौंडामा किसानको दबाबमूलक कार्यक्रम
हेटौंडा- बेमौसमी वर्षाबाट धानबालीमा ठूलो क्षति पुगेपछि क्षतिपूर्ति र किसानका दीर्घकालीन माग सम्बोधनको लागि राष्ट्रिय किसान संजालद्वारा आयोजना गरिएको दबाबमूलक कार्यक्रम आइतबार हेटौंडामा सम्पन्न भएको छ ।कार्यक्रम हेटौंडाको स्कुलरोडबाट सुरुभई बुद्धचोकसम्म ¥याली निकालेर टुंगिएको थियो । कार्यक्रममा सहभागी किसानले तत्काल पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा समस्या स्थायी समाधानका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने माग गर्दै नाराबाजी गरेका थिए । राष्ट्रिय किसान संजालका अनुसार बेमौसमी वर्षाले प्रदेशभरका किसानको धानबालीमा ठूलो क्षति पु¥याएको छ । क्षतिको विवरण संकलन गरी तत्काल क्षतिपूर्ति उपलब्ध गराउन संगठनले सरकारसमक्ष बलियो माग राखेको छ । भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा नापजाँच गरी लालपुर्जा वितरण प्रक्रियालाई गतिशील बनाउन भूमि आयोगलाई सक्रिय बनाउनु पर्ने मागपनि प्रमुखरुपमा प्रस्तुत गरिएको थियो ।
किसानले सहकारी तथा दुग्ध संस्थालाई बिक्री गरेको तर, अझै भुक्तानी नपाएको दुग्धको बाँकी रकम तत्काल भुक्तानी गराउन सरकारलाई दवाब दिन पनि यो कार्यक्रम आयोजित गरिएको आयोजकले बताए । कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष रामशरण आलेले सरकार किसानप्रतिको दायित्वबाट विमुख देखिएको उल्लेख गर्दै किसानको जीवन र उत्पादनको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने बताए । उनले हरेकवर्ष हुने प्राकृतिक विपत्तिले किसानलाई दयनीय बनाइरहेको र राहत वितरण प्रक्रियामा पनि ढिलाइ भइरहेकाले अब किसान आन्दोलन अपरिहार्य बनेको बताए ।त्यसैगरी कार्यक्रममा किसान महासंघका नेताहरु एकराज उप्रेती, विष्णु दंगाललगायतले किसानका माग परिपूर्ति नभएसम्म दबाब कार्यक्रम जारी रहने चेतावनी दिएका थिए । ¥यालीमा स्थानीय किसान, किसान सञ्जालका प्रतिनिधि तथा विभिन्न किसान संगठनका नेतृत्वकर्ताको उत्साहपूर्ण सहभागिता रहेको थियो ।







