भदौ २४ को प्रदर्शनका क्रममा आगजनी गर्ने पाँचजना हेटौंडाबाट पक्राउ

योजनाकारलाई उन्मुक्ति दिन खोजेको आरोप
साझाकुरा
२०८२ कार्तिक २८, बिहीबार ०९:५८

हेटौंडा- भदौ २४ को प्रदर्शनका क्रममा आपराधिक उपद्रो, तोडफोड तथा आगजनीमा संलग्न पाँचजना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।गत भदौ २४ गते हेटौंडा उपमहानगरपालिका–११, नवलपुर बस्ने सुशील पौडेलको घरमा आगजनी र तोडफोड गरेको अभियोगमा त्यही ठाउँका ३६ वर्षीय सुजन अधिकारी र ३५ वर्षीय सुरेन्द्र रानामगरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । उनीहरुविरुद्ध आपराधिक उपद्रो तथा लुटपाट सम्बन्धी कसुरमा जिल्ला अदालत मकवानपुरबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको बताइएको छ । आन्दोलनकै क्रममा बागमती प्रदेशसभा सचिवालय भवन र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको भवनमा तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न भएकोआरोपमा प्रहरीले थप तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सर्लाही बरथवा नगरपालिका–१ की २७ वर्षीया पुनम ठाकुर, त्यही ठाउँका २७ वर्षीय प्रमोद महतो र हेटौंडा उपमहानगरपालिका–८ का ४३ वर्षीय सागर घताने (रोमबहादुर घताने) रहेका छन् । पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ । यद्यपि जेनजी प्रदर्शनको क्रममा हेटौंडाका व्यक्तिगत सम्पत्तिमा र सरकारी निकायका भवनमा आगजनी र तोडफोडबाट क्षति पु¥याउने घटनाका योजनाकारलाई मकवानपुर प्रशासनले उन्मुक्ति दिन खोजेको आरोप लागेको छ । पक्राउ परेकाहरु घटनामा संलग्न भएपनि योजनाकार नभएको र प्रशासनले मुख्यतः योजनाकारलाई कारबाही गर्नुपर्ने आवाज उठेको छ ।

हेटौंडालाई क्षतिविक्षत बनाउन व्यक्तिका घरदेखि सरकारी संरचनामा आगलागी गर्ने, तोडफोड र चोरी गर्ने घटनाको योजनाकारलाई उन्मुक्ति दिएर संलग्नहरुलाई मात्रै कारबाही गर्नु न्यायपूर्ण नहुने पीडितहरुको भनाई छ । मकवानपुर प्रहरीले व्यक्तिगत घरमा आगलागी र तोडफोडमा प्रत्यक्ष संलग्नलाई पक्राउ गर्दै मुद्दा चलाउन थालिसकेको छ । मकवानपुर प्रहरीले २४ भदौमा भएको घटनाको झण्डै एक हजार बढी भिडियो फुटेजलगायतका प्रमाण संकलन गरेर घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

जेनजी प्रदर्शनका क्रममा भएका घटनाको छानबीन गर्न गठित न्यायिक जाँचबुझ आयोगको स्पष्ट निर्देशनपछि प्रहरीले ‘एक्सन’ सुरु गरेको हो । कार्तिक ११ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आयोजित घटनाको अन्तरक्रियामा आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले भदौ २४ गतेको घटनालाई पूर्ण फौजदारी अपराधको संज्ञा दिँदै दोषीलाई कानुनी कारबाहीमा ल्याउनुपर्ने बताएका थिए । भदौ २३ गतेको प्रदर्शनमा सामान्य धर्ना बाहेक हेटौंडाको अवस्था शान्त नै थियो । २४ भदौका दिन भने प्रदर्शनकारीको ठूलो भिडले प्रदेश सरकारका संरचनादेखि राजनीतिक दल र व्यवसायीका व्यक्तिगत संरचना आगजनी र तोडफोड गरेर क्षतिग्रस्त बनाइयो ।

बागमती प्रदेशसभा सचिवालयको दुईवटै भवन, प्रदेश सरकारका मन्त्रालयहरु, अन्य सरकारी कार्यालयसहित बागमतीका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ, पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री एकालाल श्रेष्ठ, संविधानसभा सदस्य अनन्त पौडेल, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, व्यवसायी अरुणराज सुमार्गीलगायत नेता र व्यवसायीको व्यक्तिगत संरचनामा क्षति पु¥याइएको थियो । घर जलाइएका पीडित पक्षले असोज ५ गते नै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा करिब आधा दर्जन व्यक्तिलाई घटनाको योजनाकारको रुपमा अपराधिक उपद्रो तथा संगठित अपराधमा कारबाही माग गर्दै किटानी जाहेरी परेको प्रहरीले जनाएको छ ।

तर, किटानी जाहेरीउपर कारबाही अगाडि बढेको छैन । घटनाका अन्य दोषीलाई नियन्त्रणमा लिइए पनि मुख्य योजनाकार खुलेआम हिँडिरहेको भन्दै पीडितपक्षले सरकारले उन्मुक्ति दिन खोजेको आरोप लगाएका हुन् । जाहेरीकर्ताले जेनजी पुस्तालाई प्रदर्शन गर्न उक्साएर ५ देखि ७ जना सरकारी निकाय र व्यक्तिको घर जलाउने योजनाकार रहेको दाबी गर्दै जाहेरी दिएको प्रहरीले उल्लेख गरेको छ । पीडितपक्षले भने प्रहरीले प्रदर्शनमा उत्रिएका जेनजी पुस्ताकालाई मात्रै पक्राउ गरिरहने र योजनाकारले उन्मुक्ति पाउने अवस्था आउनसक्ने आशंका व्यक्त गरेका हुन् ।

‘केही व्यक्तिले प्रदर्शनकारीको नेतृत्व गरेको थियो, मान्छे ओसारेर हिँडेको थियो, घर देखाउँदै हिँडेको छ । ती मान्छेहरु अहिलेसम्म पक्राउ परेका छैनन्,’ प्रदेशसभा सदस्य श्रेष्ठले भने, ‘हामीले दिएको किटानी जाहेरीका आधारमा पनि उनीहरुमाथि कारबाही हुनुपर्ने थियो । खुलेआम हिँडिरहेको अवस्था छ ।’ उनीहरुलाई तत्काल कारबाही नभए समाजमा शान्तिसुरक्षा कायम हुन नसक्ने र झन ठूलो द्वन्द्वको सिर्जन हुनसक्ने अवस्था देखिएको श्रेष्ठले बताए ।

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी बोगटी भने घटनामा दोषी देखिएका कसैले पनि उन्मुक्ति नपाउने बताउँछन् । मकवानपुर प्रहरीमा हालसम्म करिब ३० जनाविरुद्ध एक दर्जन जाहेरी दर्ता भएको छ । मंगलबार मात्रै हेटौंडा उपमहानगरपालिकाले आगलागी र तोडफोडको अनुसन्धान गर्न माग गर्दै जाहेरी दिएको छ । अन्य सरकारी निकायले पनि जाहेरी दिने तयारी गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*