म्यानेजमेन्टका १८ जना विद्यार्थीले एकैसाथ एमबीबीएसमा नाम निकाले

साझाकुरा
२०८२ कार्तिक २८, बिहीबार १०:००

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्टबाट सहभागी १८ जना विद्यार्थीले चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएसको छात्रवृत्ति परीक्षामा एकैसाथ नाम निकालेका छन् ।म्यानेजमेन्टले कक्षा ११ मा विज्ञान संकायमा भर्ना भएर अध्ययन सुरु गरेदेखि नै विद्यार्थीलाई एमबीबीएसको छात्रवृत्ति परीक्षाका लागि तयारी गराउने गरेको छ । कात्तिक १५ गते लिएको परीक्षाको नतीजा सोमबार सार्वजनिक गरेको थियो । यो वर्ष एमबीबीएस तयारी कक्षामा सहभागी म्यानेजमेन्टका ४१ जना विद्यार्थीमध्ये १८ जनाले पूर्णछात्रवृत्तिमा अध्ययन गर्न पाउने भएका छन् ।

छात्रवृत्ति पाउनेहरुमा परिक्षित रायमाझी, अभयकुमार श्रेष्ठ, अनुजाकुमारी शाह, अनुसन्धान चापागाई, भुषण दाहाल, फेत्तमा बेगम, जेनु लामा, क्षितिजप्रसादगौरो, निर्जल कार्की, रमेशप्रसाद यादव, रेणु गुप्ता, रेश्मी अर्याल,रितेशकुमार पण्डित, क्षितिज अर्याल, सौरभ देवकोटा, श्रेया खड्का, स्मृति पौडेल, सुमना कार्की रहेका छन् । हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले यस वर्षको नतीजा उत्साहजनक भएको प्रतिक्रिया दिए । चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीको सहजताका लागि गरिएको प्रयास सकारात्मक र सफल भएको प्रिन्सिपल जोशीको भनाइ छ ।

‘हाम्रो उद्देश्य केवल विद्यार्थीलाई परीक्षाको तयारी गराउने मात्र होइन, उनीहरुलाई आत्मविश्वासी र जिम्मेवार नागरिक बनाउने हो,’ प्रिन्सिपल जोशीले भने। ‘यो नतिजा शिक्षक, विद्यार्थी र अभिभावक सबैको सामूहिक प्रयासको परिणाम हो ।’ म्यानेजमेन्टले न्यूनतम शुल्क लिएर, शूल्क तिर्न नसक्नेलाई निशूल्क नै तयारी कक्षामा सहभागी गराएको प्रिन्सिपल जोशीले जानकारी दिएका छन् । गतवर्ष सोही विद्यालयका १२ विद्यार्थीले छात्रवृत्तिमा नाम निकाल्न सफल भएका थिए ।

यस वर्ष भने सफल विद्यार्थीको संख्या बढ्दै १८ पुगेको छ । हेटौंडा स्कूल अफ म्यानेजमेन्टको विज्ञान संकाय संयोजक भोलानाथ गौतमले विद्यार्थीको मिहिनेत र परिश्रमलाई म्यानेजमेन्टले सहयोग गरेको बताए । म्यानेजमेन्टले एमबीबीएस प्रवेश परीक्षाको तयारी निरन्तर सञ्चालन गरेर विद्यार्थीलाई सफल हुन सहयोग गरेको उनको भनाइ छ । ‘हेटौंडालाई ड्राइभरको सहरबाट डाक्टरको सहर बनाउने आपूmहरुको योजना रहेको छ’ उनले बताए । म्यानेजमेन्टले ५ वर्षदेखि एमबीबीएस छात्रवृत्ति परीक्षामा सहभागी हुनका लागि आवश्यक तयारी कक्षा सञ्चालन गर्दै आएको छ ।

कक्षा ११ मा भर्ना भएका विद्यार्थीमध्ये एमबीबीएसको तयारी गर्न चाहने विद्यार्थीलाई बिहान ८ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म विशेष कक्षाको व्यवस्था गर्ने गरेको छ । तयारी कक्षाको प्रभावकारिताकै कारण हरेक वर्ष सफल हुने विद्यार्थीको संख्या र दर बढ्दै गएको छ । कात्तिक १५ गते काठमाडौँमा भएको परीक्षामा १८ हजार ८ सय विद्यार्थी सहभागी भएका थिए । आरक्षण र खुला गरी छात्रवृत्तिमा अध्ययनका लागि ६ सय ९१ जना विद्यार्थी छनोट हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*