आफूलाई सूर्य नेपालको कर्मचारी भन्दै ठगीगर्ने तीनजना पक्राउ

साझाकुरा
२०८२ कार्तिक २८, बिहीबार १०:०२

हेटौंडा- आफूलाई प्रतिष्ठित कम्पनी सूर्य नेपाल प्रालिको कर्मचारीकारुपमा चिनाउँदै हेटौंडाका व्यवसायीलाई ठगीगर्ने तीनजना व्यक्ति प्रहरीले पक्राउ गरेको छ । ठगीमा संलग्न समूहले विभिन्न व्यवसायीलाई अनलाइनमार्फत् सामान अर्डर गरी नक्कली बैंक भौचर प्रयोग गरेर करिब १७ लाख ८७ हजार रुपैयाँ बराबरको सामान बीरगंजतर्फ डेलिभरी गरेका थिए । पक्राउ पर्नेहरुमा पर्सा जिल्ला वीरगंज महानगरपालिका–२४ का वर्ष २८ का राजु सर्राफ, वीरगंज महानगरपालिका–१९ का वर्ष ४० का रामराउत कुर्मी र वीरगंज महानगरपालिका–३२ टेटा घरभई हाल मकवानपुर हेटौंडा उपमहानगरपालिका–१०, टिसनरोडमा डेरागरी बस्दै आएका वर्ष ४० का नितेश कुमार केशरी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

उनीहरुले हेटौंडाक्षेत्रमा रहेका व्यवसायीसँग अनलाइनमार्फत् सम्पर्क गरी आफूलाई सूर्य नेपाल प्रालिको खरिद विभागका कर्मचारी बताउँदै सामानको अर्डर गर्ने गरेका थिए । सामान अर्डर गरेपछि उनीहरुले बैंक भुक्तानी गरेको झूटो प्रमाणपत्र (भौचर) तयार पारी ह्वाट्सएपमार्फत् व्यापारीलाई पठाउँथे ।प्रहरीका अनुसार, उनीहरुले यसरी विभिन्न मितिमा हेटौंडाका थुप्रै व्यवसायीलाई झुक्याई रकम नतिरी सामान डेलिभरी गराएका थिए । पक्राउ परेका तीनजनालाई मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमति लिएर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*