मेचीमहाकाली साइकलयात्रीलाई हेटौंडामा स्वागत
हेटौंडा- झापाको मेचीनगर नगरपालिका–१० बाट मेचीमहाकाली साइकल यात्रा सुरु गरेको भद्रपुर साइकल समाजको ५ जनाको टोलीलाई बुधबार बिहान हेटौंडामा स्वागत गरिएको छ । हेटौंडाको बुद्धचोकमा साइकल सिटी हेटौंडाको आयोजनामा यात्रु टोलीको स्वागत तथा शुभकामना कार्यक्रम सम्पन्न गरिएको हो । यसअघि मैगलबार साँझ हिमालयन राइडर्स सोसाइटीले साइकलयात्रीलाई स्वागत गरेको थियो । भद्रपुर साइकल समाजका अध्यक्ष जीवन कुमार श्रेष्ठको नेतृत्वमा कात्तिक २३ गते मेचीनगरबाट सुरु भएको साइकलयात्रा मंगलबार साँझ हेटौंडा आइपुगेको हो । अध्यक्ष श्रेष्ठले नेपालमा साइकल प्रयोगकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गएपनि अझै पनि साइकलमैत्री कानुन, पूर्वाधार र जनदृष्टिकोणमा आवश्यक सुधार हुनुपर्ने बताए ।
उनले मेचीमहाकाली साइकल यात्राको उद्देश्य नै देशभर साइकलमैत्री वातावरण निर्माण र स्वस्थ्य जीवनशैलीप्रति समाजलाई सचेत बनाउने रहेको उल्लेख गरे । कार्यक्रममा साइकल सिटी हेटौंडाका अध्यक्ष लेखनाथ ढकालले हेटौंडालाई साइकलमैत्री सहर बनाउने अभियानमा संस्था निरन्तर सक्रिय रहेको बताउँदै, मेचीमहाकाली यात्राले यो प्रयासलाई थप बल दिने विश्वास व्यक्त गरे । उनले भद्रपुर साइकल समाजका यात्रुले साइकल संस्कृतिको संरक्षण र प्रचारमा योगदान पु¥याइरहेको भन्दै धन्यवाद ज्ञापन गरे ।
संस्थापक अध्यक्ष दीपक खड्काले अहिलेको प्रतिकूल मौसममा पनि युवाले उत्साहकासाथ लामोदूरीको यात्रा आरम्भ गरेको साहस प्रशंसनीय रहेको बताए । उनले साइकल प्रयोग स्वास्थ्य, वातावरण र ऊर्जासंरक्षणका दृष्टिले फाइदाजनक हुने भन्दै यस्ता यात्राले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे । साइकल सिटी हेटौंडाका महासचिव रामप्रसाद फुँयाल, कोषाध्यक्ष मंगल लामा लगायतको उपस्थिति रहेको थियो । यात्रा टोलीमा जीवनकुमार श्रेष्ठ, मनोज सिंह, देवबहादुर श्रेष्ठ, विश्वचन्द्र महतो र समीर पोखरेल सहभागी थिए ।







