६३ परिवारमा ‘एकघर, एकधारा’
हेटौंडा- भिमखोरीका ६३ परिवारमा ‘एकघर, एकधारा’ पु¥याइएको छ । बागमती प्रदेशको खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयको आर्थिक सहयोगमा भिमखोरी खानेपानी तथा सरसफाई आयोजनामार्फत ६३ परिवारका ३ सय ७२ जना लाभान्वित भएका छन् ।प्रदेश सरकारको ८४ लाख ६१ हजार २ सय ५९ रुपैयाँ र जनश्रमदान बापत ५ लाख ६२ हजार ६ सय ६२ गरी ९० लाख २३ हजार ९ सय २१ लागतमा आयोजना सम्पन्न भएको खानेपानी तथा सरसफाई डिभिजन नम्बर ३ सिन्धुपाल्चोकका डिभिजनप्रमुख सृष्टि ख्वालपालले जानकारी दिइन् । ५ हजार ६ सय ५० मिटर टाढा रहेको मुहानबाट पानी ल्याएर प्रत्येक घरमा वितरण गरेको उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीध्वज लामाले जानकारी दिए । प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री कृष्णकुमार तामाङ र रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले संयुक्तरुपमा खानेपानी आयोजना उद्घाटन गरे ।
मन्त्री तामाङले तीन तहको सरकारले एकआपसमा सहकार्य र समन्वय गरेर विकासनिर्माणको काम गर्नुपर्ने भन्दै आमनागरिक पनि जिम्मेवार भएर विकास निर्माणमा लागे मात्र दिगो विकास हुने तर्क गरे । एक वर्षभित्रै योजना सम्पन्न गर्न मन्त्री तामाङले अनुरोध गरे । रोशी गाउँपालिका अध्यक्ष लामाले बाढी र पहिरो जस्ता विपद्बाट बिस्तारै उठ्दै गरेको रोशीमा स्थानीयको जनजीविकामा प्रत्यक्ष जोडिने योजनालाई प्रथमिकता दिएको बताए । स्थानीय स्रोत र साधनको उपयोग गर्दै गाउँपालिका अगाडि बढेको तर्क गर्दै उनले पालिकाले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर जेष्ठ नागरिकको परिवारलाई निःशुल्क स्वास्थ्य बीमा, जेष्ठनागरिक र सुत्केरीलाई निःशुल्क स्वास्थ्यसेवा दिएकोे जानकारी दिए ।
स्रोतको हिसाबले स्थानीय सरकारले ठूलो आयोजना सञ्चालन गर्न नसकेको तर्क गर्दै उनले प्रदेश र संघीय सरकारसंग समन्वय गरेर अगाडि बढ्ने र जनचासोको सानो तर, महत्वपूर्ण योजना स्थानीय सरकारले अघि बढाएको बताए । कार्यक्रममा रोशी गाउँपालिका वडा नं ११ का अध्यक्ष लालकुमार पाख्रिन, वडा नं १० का पूर्वअध्यक्ष दुधराज तामाङ, समाजसेवी शंखबुद्ध लामा, वडा नं ११ का पूर्वअध्यक्ष मिलन लामालगायतले खानेपानी आयोजना सम्पन्न भएसँगै स्थानीयले खानेपानीको समस्याबाट मुक्ति पाउने विश्वास व्यक्त गरे । कार्यक्रममा उपभोक्ता समितिका सचिव लाक्पासाङ लामाले आयोजनाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।







