५ हजार कैदी अझै फरार : खोजतलासका लागि कार्यदल गठन

साझाकुरा
२०८२ कार्तिक २९, शुक्रबार १०:३८

हेटौंडा- जेनजी आन्दोलनको क्रममा भदौ २४ गते फरार भएका कैदीबन्दीमध्ये अझै ५ हजार १३ जना फरार रहेको गृह मन्त्रालयले जनाएको छ ।बिहीवार सिंहदरबारमा बसेको राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार जेनजी आन्दोलनको क्रममा १४ हजार ५ सय ५४ जना भागेकोमा ९ हजार ४ सय ४१ जनालाई फिर्ता ल्याइएको छ । उनले देशभरका कारागारबाट फरार भएका कैदीबन्दीलाई पक्राउ गर्न नेपाल प्रहरीले विशेष अभियान सञ्चालन गरिरहको बताए । गृहमन्त्री अर्यालले फरार कैदीको सूची सार्वजनिक गरी सार्वजनिक निकायमा सेवा लिन आएमा सेवा नदिन सबै निकायमा पत्राचार गरिएको जानकारी गराए ।

उनले फरार कैदीको खोजतलासका लागि सबै जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिएको र सुरक्षातहमा विशेष अपरेसन जारी रहेको बताए । उनले फरार कैदी र लुटिएका हतियारलाई प्रमुख सुरक्षा चुनौतीकारुपमा लिएको बताउँदै सरकार ती चुनौती परास्त गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए । ‘भदौ २३ र २४ को घटनामा देशका विभिन्न कारागारबाट १४ हजार ५ सय ५४ कैदीबन्दी फरार भएकोमा हालसम्म ९ हजार ४ सय ४१ जना फिर्ता ल्याइसकिएको छ । अहिले ५ हजार १३ जना पक्राउ गर्न बाँकी रहेको छे गृहमन्त्री अर्यालले भने ।

‘उहाँहरुलाई हामीले पटकपटक सूचना निकालेर आग्रह गरेका थियौं । फरार कैदीबन्दीलाई पक्राउ गर्नको लागि निजहरुको सूची सार्वजनिक गरिएको छ । त्यस्ता फरार कैदीहरु सार्वजनिक निकायमा सेवा लिन आएमा सेवा प्रदान नगर्न सबै निकायमा पत्रचार गरिएको छ । सबै जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरी खोज तलास तिब्रता दिइएको छ’ गृहमन्त्री अर्यालले भने, ‘त्यस्ता सुरक्षा निकायमार्फत फरार कैदी पक्राउ गर्न विशेष अपरेसन चलाउने कार्यलाई समेत अगाडि बढाइएको छ । फरार कैदी र लुटिएका हतियारलाई प्रमुख सुरक्षा चुनौतीको रुपमा लिई सरकार गम्भीरतापूर्वक अगाडि बढेको छ ।

सम्पूर्ण चुनौतीलाई परास्त गरी स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेमा सरकार विश्वस्त छ । यसमा सर्वसाधारण सबैको साथ र सहयोग अपरिहार्य रहेको छ ।’उनले जेनजी आन्दोलनका घाइतेहरुलाई परिचयपत्रसहित निशुःल्क उपचारको व्यवस्था मिलाइएको बताए । उनले विदेशमा रहेका नेपाली नागरिकलाई समेत मतदानको अधिकार उपलब्ध गराउने विषयमा सरकार आवश्यक गृहकार्यमा लागेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*