स्थानीयबासीले लोथर खोलमा काठेपुल हाले
हेटौंडा- पक्की पुलको अभावमा वर्षायाममा मोटरसाइकल बोकेर वारपार गर्नुपर्ने लोथर खोलामा हिउँद लागेपछि स्थानीयवासीले काठेपुल हालेका छन् । खरखण्डे मागिनी टोल विकास संस्था, सिलिङे सामुदायिक वन र स्थानीय युवाको सामूहिक प्रयासपछि काठेपुल बनाउन सम्भव भएको हो । हिउँद लागेपनि अटो, मोटरसाइकल र पैदलयात्री खोलामा जोखिम मोलेर हिँड्नु पर्ने भएकाले एक साता लगाएर काठे पुल बनाएको स्थानीय रावन चेपाङले बताए । मंगलबारदेखि काठेपुलबाट पैदलयात्री, मोटरसाइकल र अटोहरु सहज ढंगले आउजाउ गर्न थालेका छन् ।
राप्ती नगरपालिका–११ स्थित थालकटारमा रहेको माविमा खरखण्डे र सिलिङेका तल्लाभेगका विद्यार्थी हिउँदमा पनि लोथर खोला तरेर पढ्न आउजाउ गर्नुपर्ने वाध्यता थियो । काठेपुल बनेपछि स्कुल आउजाउ गर्न सहज भएको छ । वर्षायाममा बस्ती र स्कुलभन्दा निकै टाढा बनेको झोलु·े पुलबाट आउजाउ गर्नुपथ्र्यो, अहिले खोलामा काठेपुल बनेपछि विद्यार्थीलाई पनि सहज भएको सिलिङे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर मोक्तानले बताए ।
वर्षायाममा एउटा मोटरसाइकल तारेको २ हजार रुपैयाँ ढुवानी भाडा लिने गरेका थिए । ‘लोथर खोलामा पक्की पुल नबन्दा बिरामीका लागि उपचार गर्न लैजान एम्बुलेन्स ल्याउन पनि समस्या छ,’ राक्सिराङ गाउँपालिका पूर्ववडाध्यक्ष सिंहबहादुर चेपाङले भने । राक्सिराङ गाउँपालिका ६, ७, ८ र ९ नम्बर वडाका बासिन्दा यही खोला तरेर आउजाउ गर्छन् । गाउँमा उत्पादित कृषिजन्य बस्तु पनि सवारीसाधनले यही खोला पारगरेर ल्याउनुपर्छ । तर, वर्षायाम लागेपछि लोथर खोलाका कारणले सवारीसाधन संचालन हुन सक्तैनन् । यो क्षेत्रमा पक्की पुल निर्माण गर्न राक्सिराङ गाउँपालिकाले प्रदेश र संघीय सरकारसँग माग गर्दै आएको तर, सुनुवाइ नभएको पालिका अध्यक्ष राजकुमार मल्लले बताए ।







